अख्तियारका पूर्वप्रमुख बस्न्यातको असाधारण जीवनशैली , राजसी ठाँट : सोफामा सुनको जलप !

काठमाडौं । घरमा सुनको जलप लगाइएको सोफा छ ।सोफामात्र होइन, सुनको जलपले सजाइएका सामानहरूले हरेक कोठा ‘राज कक्ष’जस्तो देखिन्छ ।कति घर छन् यकिन छैन, एउटा घर सरकारी भाडामा लगाइएको छ । आफू बस्ने घर बंगाला जस्तो छ । घरमा सेक्युरिटी गार्ड । विलासी गाडी ।असाधारण जीवनशैली । राजसी ठाँट ।तर, उनी न अर्बपति व्यापारीक घराना हुन्, न अकुत सम्पत्तिवाला पैत्रिक विरासत बोकेका व्यक्ति !सरकारी कागजातमा सीधै देखिने सम्पत्ति केही छैन । बैंक खातामा पैसा छैन, आफ्नो नाममा कुनै सम्पत्ति पनि देखिन्न !

उनी हुन्, पूर्वप्रशासक दीप बस्न्यात ।मानिसहरूलाई झट्ट सुन्दा पत्याउन मुस्किल हुन्छ, पूर्वप्रशासकको यत्रो ठाँटबाँट !हो । यही ठाँटबाँटमाथि अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्तसमेत रहेका दिप बस्न्यातको सम्पत्ति छानविन हुँदै जाँदा रोचक घटनाहरू भेटिन थालेका छन् ।नेपाल सरकारको सचिवबाट अवकास पाएपछि मुलुकको भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख निकायको नेतृत्वमा पुगेका बस्न्यातमाथि अहिले विभागले छानविन गरिरहेको छ ।

विभागले भण्डै एक वर्षदेखि उनीमाथि अनुसन्धान गरिरहेकाे छ ।बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएको ठहर गर्दै अख्तियारले मुद्दा चलाएलगत्तै विभागले उनीमाथि अनुसन्धान थालेको थियो ।अनुसन्धानबाट उनीसँग करिब एक अर्ब अबैध सम्पत्ति भेटिएको छ । विभागले उनको सम्पत्तिका अरु स्रोत पनि खोजिरहेको छ ।अनुसन्धानको सुरुवाती चरणमा उनको नाममा रहेका सम्पत्ति फेला पार्नै विभागका अनुसन्धान अधिकृतहरूलाई धौधौ पर्यो ।त्यतिखेर काठमाडौंको बत्तिसपुतलीमा एउटा घर र एउटा गाडी भेटियो, त्यो पनि अंशबण्डा भएर छोरा–छोरीको नाममा गइसकेका थिए ।

बस्न्यात यस्ता पूर्व प्रशासक हुन्, जो कर्मचारी हुँदा सधैँ कमाउ कार्यालयमा मात्र रहे । भौतिक पूर्वाधार तथा यातायात सचिव हुँदा आफ्नै घरमा लगेर मन्त्रालय मातहतको रेल विभागको कार्यालय राखे । त्यसबापतको भाडा मूल्य निकै महंगो निश्चित गराए ।तर, अनुसन्धानको क्रममा न उनको बैंक खातामा पैसा देखिन्छ, न प्रशस्त घर जग्गा ।करिब ८ महिनाको अनुसन्धानपछि बल्ल बस्न्यातको सम्पत्तिका ‘नेक्सस’ हरू देखिन थालेका छन् ।सरकारी कागजातमा सीधै देखिने सम्पत्ति केही नभएका उनको जीवनशैली भने असाधारण छ ।

उनको अनुसन्धानमा खटेका अनुसन्धान अधिकृतहरू भन्छन् – उनको घरको सोफामा सुनको जलप लगाइएको छ ।सुनको जलपले सजाइका सामानहरूले हरेक कोठा राज कक्षजस्तो देखाउँछ । भित्ता सजाउन र भुइँमा प्रयोग भएका गलैँचाले उनको ‘आर्थिक भव्यता’ देखाउँछ उनको राजसी ठाँटको स्रोत खोज्दै जाँदा विभागले एक पटक बस्न्यातको करिब १६ करोड अबैध सम्पत्ति भेटेको थियो ।त्यस्तो अबैध सम्पत्तिको स्रोत खोज्दै जाँदा अहिलेसम्म ८० करोडभन्दा बढी अबैध सम्पत्ति भेटिएको विभागको दावी छ ।राजसी ठाँटका बस्न्यातसँग सहजै स्रोत नखुलेको अवैध पैसा भेटिने विभागको अनुमान थियो ।

तर, अनुसन्धान थप जटिल बन्दै गयो ।दिप बस्न्यातको आर्थिक कारोबार गर्ने प्रमुख विस्वासिला पात्र हुन्, म्यानपावर व्यवसायी भिम रोका ।काठमाडौको बुढानिलकण्ठ घर भएका रोका र बस्न्यातको बीच बाक्लो टेलिफोन कुराकानी हुने गरेको भेटियो ।बस्न्यातमाथि भइरहेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान रोकामाथि पनि सुरु भएको छ ।त्यही टेलिफोन सम्पर्कका आधारमा अनुसन्धान अघि बढ्दा व्यवसायी रोका बस्न्यातको अवैध पैसाको कारोबार गर्ने मूख्य पात्रका रुपमा देखा परेका छन् ।बस्न्यातका विश्वास पात्र रोकाको बुढानीलकण्ठको घरका प्रत्येक कोठा निर्माणको सजावट मूल्य कम्तीमा एक करोड रुपैयाँ लगानी भएको भेटिएको छ ।

एउटा व्यवसायीले एउटा कोठामा यति धेरै लगानी गर्न कसरी सम्भव भयो ? अनुसन्धान अधिकृतले रोकालाई आफ्नो वैध स्रोत पुष्टि गर्न फर्म भरायो ।तर, रोकाले खर्च र आम्दानी स्रोतबीच तालमेल देखाउन सकेका छैनन् । बस्न्यात भौतिक पूर्वाधार सचिव भएको समयमा भिम रोकाको सम्पत्ति ह्वात्तै बढेको भेटियो ।बस्न्यातलाई सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनायो । त्यही समयमा रोक्काको नाममा पनि सम्पत्ति फेरि ह्वात्तै बढ्यो ।यही क्रममा बस्न्यात अख्तियारको प्रमुख आयुक्त हुँदा रोकाको सम्पत्ति गुणात्मक वृद्धि भएको देखिएको छ ।