नेपाल–भारतबीच परराष्ट्रमन्त्रीस्तरीय बैठक माघको पहिलो साता हुने, दुबै देश तयारीमा

काठमाडौं । नेपाल र भारतबीच परराष्ट्रमन्त्री स्तरीय बैठक हुने भएको छ । डिसेम्बरको दोस्रो साताका लागि तय भएको बैठक नेपालको राजनीतिक घटनाका कारण रोकिएको थियो । नेपालको लगातारको आग्रहपछि भारत बैठकका लागि तयार बनेको हो ।मन्त्रीस्तरीय बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनवरीको दोस्रो साता भारतको राजधानी दिल्ली जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले दुईदेशको बैठकको सबै तयारी पुरा गरेको बताएको छ ।लगभग जनवरी १४ अर्थात माघ एक गते दुईदेशका परराष्ट्रमन्त्रीहरुको बैठक बस्ने तयारीमा दुबै देशका सरकार लागिपरेका छन् ।

योसँगै सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि सेलाएको नेपाल–भारत वार्ता पुनः अघि बढ्ने भएको छ ।प्रतिनिधिसभा विघटनसँगै कामचलाउ सरकारसँग वार्ता गर्ने वा नगर्नेमा भारतले असमञ्जस्यता राख्दै आएको थियो । तर, नेपालको लगातारको दबाबपछि भारत मन्त्रीस्तरीय बैठकका लागि तयार बनेको बताइएको छ ।प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले समय नतोकिएपनि दुईदेशबीचको बैठक चाडो गर्नका लागि तयारी रहेको जानकारी दिनुभयो । उहाँले न्यूज ट्वेन्टी फो टेलिभिजनसँग परराष्ट्रमन्त्री ज्ञवाली भारतको राजधानी नयाँ दिल्ली जाने तयारी रहेको जानकारी दिनुभयो ।

यद्यपि बैठकको तिथि अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।गत डिसेम्बर भित्र नै बैठक गर्ने तयारी दुवै पक्षको थियो । हरेक वर्ष आलोपालोमा हुने बैठक सन २०२० भित्रै हुनु पर्ने थियो । त्यही अनुरुपको तयारी पनि भएको थियो । तर, राजनीतिक घटनाक्रममले गर्दा बैठक सरेको हो ।