सोलुखुम्बुमा यस बर्षकै पहिलो पटक हिमपात

सोलुखुम्बु : सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस बर्षकै पहिलो पटक हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्र, पत्ताले, पिके डाँडा सहितका क्षेत्रमा मंगलबार हिमपात भएको स्थानियले बताएका छन् ।खुम्बुको नाम्चे, खुम्जुङ सहितका क्षेत्रहरुमा विहानै देखि हिमपात हुन थालेको नाम्चेका लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार नाम्चे बजार केहि समय अघिबाट हिमपात सुरु भएको छ भने थामे, त्याङबोचे,कोङदे, खुम्जुङ लगायतका क्षेत्रमा गएराती देखि नै हिमपात भईरहेको छ ।

खुम्बुको तल्लो भेगमा हिउ परिरहेको छ भने नाम्चे, लुक्ला लगायतका स्थानबाट देखिने डाँडाहरु सेताम्मे बनेको नागरिक उड्ययान प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले बताउँनुभयो । हिमपात भएसँगै स्थानियबासी भने खुसी भएका छन् । हिउ परेपछि क्रमश चिसो घट्दै जाने तथा हावाहुरी समेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानिय फुर्ग्याल्जेन शेर्पाले बताउँनुभयो ।अघिल्लो बर्ष मंसिरको दोश्रो साताबाट हिउ पर्न थालेको भएपनि यस बर्ष पुस तेश्रो सातामा मात्रै हिउ परेको हो । जिल्लाको तल्लो क्षेत्र पिके डाँडा, पत्ताले, ओखलढुंगाको जन्तरधाम लगायतका क्षेत्रमा पनि सामान्य हिमपात भएको छ ।

यसैबीच, खुम्बु सहित जिल्लाको तल्लो क्षेत्रमा पनि तापक्रम बृद्धि भएको स्थानियले महसुस गरेका छन् । सोमबारबाट हावा चल्न थालेसँगै विगतको भन्दा निक्कै तातो महसुस भएको लुक्लाकी जाङमु शेर्पाले बताउँनुभयो ।विहानको समय माईनस ३ डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने लुक्लामा मंगलबार विहान ८ डिग्री सेल्सियस मापन गरिएको नागरिक उड्ययान कार्यालय लुक्लाले जनाएको छ । जिल्लाको तल्लो क्षेत्रमा हावा चलेसँगै तापक्रम बढेको महसुस भएको स्थानियले बताएका छन् ।