जो बाइडेनले राष्ट्रपतिको शपथ लिनु ठिक अघि डोनाल्ड ट्रम्पले देश छाड्ने

काठमाडौं। अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गरेर औपचारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नु ठिक अघि हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले देश छाड्ने तय भएको रिपोर्टमा दावी गरिएको छ । द गार्डियनमा प्रकाशित समाचार अनुसार बाइडेनको शपथ ग्रहणको अघिल्लो दिन ट्रम्पको आधिकारिक जहाज स्कटल्याण्ड जाँदैछ । बाइडेनको शपथ ग्रहण समारोहमा ट्रम्प सहभागी नहुने रिपोर्टमा दावी गरिएको छ । ट्रम्पले अहिलेसम्म आफू निर्वाचनमा पराजित भएको स्वीकार गरेका छैनन् ।

बाइडेनको शपथ ग्रहण २० जनवरीमा हुँदैछ । ह्वाइट हाउसले ट्रम्पको आगामी योजनाबारे जानकारी दिन अस्वीकार गरेको छ । केही विश्लेषकहरुले भने बाइडेनले औपचारिक रुपमा राष्ट्रपतिको जिम्मेवारी लिनुअघि ट्रम्पले अप्रत्याशित कदम उठाउन सक्ने पनि अनुमान गरेका छन् । केही रिपोर्टमा भने ट्रम्प फ्लोरिडास्थित आफ्नो निजी क्लवमा जान सक्ने दावी पनि गरिएको छ । स्कटल्याण्डको प्रमुख अखबार सन्डे पोस्टले भने ट्रम्पको स्कटल्याण्डस्थित टर्नबेरी गल्फ कोर्स रिसोर्ट नजिकै प्रेस्टविक एयरपोर्टमा १९ जनवरीमा अमेरिकी सैन्य विमान बोइङ ७५७ आउने सूचना दिइएको दावी गरेको छ ।

रिपोर्टका अनुसार नोभेम्बरमा टर्नबेरीको आसपासको क्षेत्रमा अमेरिकी सैन्य विमानलाई निरीक्षण गरिरहेको देखिएको थियो । सम्भवतः यो ट्रम्प आउनुअघिको तयारी हुन सक्ने मानिएको छ । यो रिपोर्टसँगै बाइडेनको कार्यकालको पहिलो दिन नाटकीय घटनाक्रम हुने अनुमान तीब्र भएको छ । अमेरिकाको इतिहासमा कुनै राष्ट्रपतिले पद छोड्नुभन्दा पहिले देश छोडेमा यो निकै अनौठो घटना हुनेछ ।