एभरेष्ट बैंकका सिईओको तलब ४ करोड ८८ लाख, अन्य बैंकका सिईओले कति लिन्छन् ?

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गजेन्द्रकुमार नेगी नेपालमा सबैभन्दा बढी तलब बुझ्नेमा परेका छन् ।बैंकहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सिईओ नेगीले गत आर्थिक वर्षमा तलब र भत्ता गरी चार करोड ८८ लाख रुपैयाँ बुझेका छन्। यसैगरी दोस्रो धेरै तलब खानेमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओ ज्योतिप्रकाश पाण्डे रहेका छन् । पाण्डेले वार्षिक ३ करोड ६३ लाख ४ हजार रुपैयाँ तलब र भत्ता गरेर बुझेका छन्। यसैगरी बैंक अफ काठमाडौंका सिईओ शोभनदेव पन्त २ करोड ८१ लाख ३ हजार बुझेका छन्।

त्यस्तै प्रभु बैंकका सिईओ अशोक शेरचन २ करोड ५७ लाख ९२ हजार, एनआईसी एसिया बैंकका सिईओ रमेशकुमार न्यौपाने २ करोड ५० लाख र माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला २ करोड २३ लाख बुझेका छन्। यस्तै नविल बैंकका सिईओ अनिल केशरी शाहले वार्षिक १ करोड ६२ लाख ३४ हजार रुपैयाँ तलब र भत्ता बुझेका छन्। त्यस्तै कृषि विकास बैंकको सिईओ अनिल कुमार उपाध्यायको वार्षिक तलब ३६ लाख ९१ हजार ६६६, नेपाल बैंकको सिईओ कृष्णबहादुर अधिकारीको तलब ४६ लाख ९६ हजार ३०६ र राष्ट्रिय वाणिज्य बैंकको सिईओ किरणकुमार श्रेष्ठको तलब ४० लाख ६५ हजार छ।

जवकी राष्ट्रिय सहकारी बैंकको सिईओको वार्षिक तलब ६६ लाख रुपैयाँ छ। कारोबार र पूँजीको हिसाबले हेर्ने हो भने राष्ट्रिय सहकारी बैंकभन्दा सरकारी बैंकहरुको पाँच देखि ७ गुणासम्म बढी छ तर उनीहरुको तलब भने अन्य वाणिज्य बैंकको तुलनामा निकै कम रहेको छ।