साफ यू-१५ च्याम्पियनशिप : नेपालले भुटानलाई ६-० ले हरायाे, उपाधिका लागि भारतसँग खेल्ने

काठमान्डौ , साफ यू–१५ च्याम्पियनशिपमा नेपाल फाइनल प्रवेश गरेको छ । उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध ६–० को जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो। तालिका मा ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने ‘हेड टु हेड’ का आधारमा नेपाल दोस्रो स्थानमा छ । यसैगरी बिहीबार दिउँसो नै भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । नेपाल बंगलादेशविरुद्ध ‘हेड टु हेड’ का आधारमा अघि रहेकाले भारतलाई पराजित गरेमा पनि नेपाललाई असर गर्ने छैन ।

नेपालले भुटानलाई सुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । नेपालको जितमा प्रदीप लम्सालले २ तथा निराजन खत्री, कृष सापकोटा, असिम राई र सुमन जिम्मीले समान एक/एक गोल गरे । पहिलो हाफको पाँचौं मिनेटमा प्रदीप लम्सालले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । यसैगरी नवौं मिनेटमा निराजन खत्रीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा नेपालले गोल थप्न सकेन । दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट खेल खेलेको थियो ।

४८ औं मिनेटमा प्रदीप लम्सालले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ७५ औं मिनेटमा असिम राईले गोल गर्दै नेपाललाई फराकिलो जित तर्फ लगे । ८५ औं मिनेटमा कृष सापकोटाले गोल गरे । इन्जुरी समयमा सुमन जिम्मीले हेडमार्फत गाेल गर्दै नेपाललाई ६–० को जित दिलाउन सफल भए ।