कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माघी पर्वको चहलपहल आजबाट कैलालीका विभिन्न गाउँबस्तीमा पनि शुरु भएको छ । विशेषगरी पुस अन्तिम दिनदेखि शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारु बस्तीमा यो पर्व शुरु भएको थारुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव चौधरीले जानकारी दिनुभयो ।आज बिहानैदेखि थारु गाउँ तथा बस्तीमा मासुका लागि बङ्गुर, सुँगुर काट्न शुरु भई सकेको संयोजक चौधरीको भनाइ छ ।
त्यस्तै राति नाचगान गरी रातभर जाग्राम बस्ने, रातभरि आगो ताप्ने, बङ्गुरको मासु, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उहाँले बताउनुभयो ।माघे सङ्क्रान्तिका दिन विशेष गरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आर्शिवाद लिने गरिन्छ”, संयोजक चौधरीले भन्नुभयो, “आर्शिवाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नून, तेल र बेसारलगायतका खाद्यान्न छुने र छुट्याइएका ती चिज घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।
थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ पर्व मनाइरहेको धनगढी उपमहानगरपालिका– २ बैयाबेहडीका स्थानीय ज्ञानु चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “थारू गाउँहरु अहिले माघीमय भएका छन् ।”यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरएका पर्व मनाउनका लागि घर पुगिसकेका छन् । पर्वमा विषेशगरी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गंगेटालगायतका स्थानीय खानाका पकवान खाने चलन छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्