युएईमा श्रमरत ६९ जना नेपाली ३ महिनादेखि घर फर्कन पाएनन्

युएई । रोजगारीका लागि युएई आएका ६९ जना नेपाली तीन महिनादेखि घर फर्कन पाएका छैनन् । एड्भान्स मेनेजमेन्ट सर्भिसेजमा काम गरिरहेका उनीहरु कम्पनीको लापरबाहीका कारण घर फर्कन नपाएका हुन् ।दुई वर्षको श्रम सम्झौता सकिएपछि घर फर्कन खोज्दा कम्पनीले आनाकानी गरेको दार्चुलाका कृष्णसिंह कोटारीले बताए । २ वर्षको सम्झौता सकिएर २ महिना बितिसक्दा पनि कम्पनीले घर नपठाएको उनको भनाइ छ ।भिसा नवीकरण पनि नगरेको र ३ महिनादेखि काममा समेत जान रोक लगाएको पीडितको भनाइ छ ।

उक्त कम्पनीमा ५ वर्षदेखि कार्यरत नेपालहरु छन् ।४ वर्षेदखि उक्त कम्पनीमा कार्यरत धनगढीका केशव साउँदका अनुसार घर फर्काइदिन आग्रह गर्दै पटकपटक कम्पनीको कार्यालय धाउदा कुनै चासो दिएको छैन ।सबैजना घर फर्कन चाहेका छन् । कम्पनीलाई दवाव दिएपछि १५ जनालाई भने घर पठाएको साउँदले बताए । तर, बाँकीलाई विभिन्न बहना बनाएर म्याद सार्दै आएको पीडितको भनाइ छ ।चाडपर्व नजिकिएको र लामो समयदेखि परिवारसँग बसेर दशैंतिहार मनाउन नपाएकोले यो वर्ष सँगै मनाउने योजनामा छन् । उनीहरुले नेपाल फर्काइदिन आग्रह गर्दै गत असारमा दूतावासमा निवेदन दिएका थिए ।

७३ जनाले दूतावासमा निवेदन दिएको भएता पनि केही मात्रै नेपाल फर्किएका छन् ।तर, पटकपटक दूतावास धाउदा पनि कुनै सुनवाई नभएको दार्चुलाका कोट्टारीले बताए । ‘हामीले दुई महिना अघि दूतावासमा निवेदन दिएका थियौं । त्यसपछि फोन गरेर बुझ्न खोज्दा कुनै जानकारी पाएनौँ,’ उनले भने ।फोन गर्न र दूतावाससम्म जाने भाडासमेत नहुने पीडित कामदारले बताए । ‘दूतावासमा फोन गर्न साथीभाइसँग खोजखाज गरेर जुटाउन पर्छ । हामीलाई दुतावासले केही गर्छ भन्ने आशा थियो,’ डिल्ली प्रसाद बजगाईंले सुनाए ।

पीडित कामदारको निवेदनपछि दूतावासले यस विषयमा चासो दिएको छ । दूतावासले सम्बन्धित कम्पनीसँग आफ्ना कामदारको समस्या तत्काल समाधान गर्न आग्रह गरेको दूतावासका श्रमसहचारी मोतीराम भुषालले बताए ।कामदारले पाउने सेवासुविधासहित भिसा क्यान्सिलको प्रकृया अघि बढेको बताउँदै कम्पनीले साउन १४ गते दूतावासलाई पत्र पठाएको छ ।कम्पनीले दूतावासमा पठाएको पत्रमा अब ६९ जनालाई नेपाल फर्काउन बाँकी रहेको उल्लेख गरेको छ । तर, त्यहाँ मिति उल्लेख नगरेको र कामदारलाई यर्थाथ कुनै जानकारी नगराएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।