नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब नजिक

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २५.५० बिन्दुले उकालो लागेर दुई हजार ६०१.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ ले उकालो लागेर ४७३.५३ मा पुगेको छ ।नेप्सेमा दोहोरो अङ्कको सुधार हुुँदा कारोवार रकमसमेत उच्च नै देखिएको छ ।

कूल २०८ कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर रु १० अर्ब तीन करोड ५४ लाख ५४ हजार ९५५ मा कारोवार भयो । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३६ खर्बको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल गार्हस्थ्य उत्पादनको हाराहारी नै हो । आजको बजार पूँजीकरण रु ३५ खर्ब ८४ अर्ब ७६ करोड सात लाख ९० हजार बराबर भएको छ ।कारोवार भएकामध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । लगानीकर्ता बैंकिङ उपसमूहमा आकर्षित हुँदा विकास बैंक र अन्य उपसमूह हरियो भएको छ ।

बैंकिङ ३८.४१, विकास बैंक ६.४७, अन्य ५.५४ र सामूहिक लगानी कोष ०.११ ले उकालो लागेको छ । यस्तै, व्यापार ३७.९५, होटल १३.०२, जलविद्यस्त् २६.९८, वित्त ९.३९, निर्जीवन बीमा ३७.८६, उत्पादन ११०.०४, लघुवित्त २४.८१ र जीवन बीमा ५४.११ बिन्दुले घटे ।कारोवारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ५४ करोड ४४ लाख ५६ हजार बराबरको कारोवार भयो ।