रामचन्द्र पौडेललाई बीचमा रोक्दै देउवाले भने- असार ५ सम्म पनि चुनाव नभए ओलीविरुद्ध सडकमा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार ५ सम्म पनि निर्वाचन नभए कांग्रेसले सडकमा जानुपर्ने बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा बोलिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बीचमा रोक्दै देउवाले ६ महिनाभित्र निर्वाचन गराउने समय प्रधानमन्त्री केपी ओलीलाई भएको बताए। ‘प्रतिनिधि सभा विघटन भएको असार ५ मा ६ महिना पुग्छ। असार ५ सम्म निर्वाचन ओलीले नगराए उनीविरुद्ध कांग्रेसले सडक आन्दोलन गर्नुपर्छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सभापति देउवालाई उद्धृत गर्दै भने।

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिसकेपछि पुर्नबहालीको माग गर्नुपर्ने नेता पौडेलको भनाइ थियो। पौडेलको बोलीको प्रतिवाद गर्दै देउवाले असंवैधानिक भनिसकिएको उल्लेख गर्दै प्रतिपक्ष निर्वाचनकै पक्षमा हुनुपर्ने जिकिर गरेका थिए। ‘पुर्नस्थापना भए त भइहाल्यो। चुनाव हुने भयो भने नगर्न कसरी हामीले भन्ने? हामी त सहभागी हुनैपर्छ नि!,’ ती केन्द्रीय सदस्यले देउवाको बोली उधृत गर्दै भने।