अमेरिकामा डेढ करोड जनता हिउँ पगालेर पानी पिउँदै

काठमाडौं। अमेरिकाको टेक्सासमा करिब १ करोड ४० लाख जनताले पानीको संकटको सामना गर्नु परिरहेको छ । राज्यमा १० र ११ फेब्रुअरीमा आएको हिउँको तुफानको कारण विद्युत आपुीर्त प्रणाली पनि बिग्रिएको थियो जसका कारण जनता कैयौं दिनसम्म चिसो र अँध्यारोमा बिना हिटर बस्नु परेको थियो । भीषण चिसोका कारण पानी आपूर्ति गर्ने पाइप पनि फुटेका छन् जसका कारण जनताले पानीको संकटको सामना गर्नुपरेको छ ।डेलीमेलको रिपोर्टअनुसार पानीको आपूर्ति रोकिएपछि उनहिरुले हिउँ जम्मा गरेर त्यसैलाई पगालेर पानीको काम चलाएका छन् ।

धेरै जनता बोतलको पानीमा पनि निर्भर रहे । ह्युस्टनको एक स्टेडियम बाहिर सयौं मानिसहरुको लाइन देखियो जो पानीको बोतल लिन पुगेका थिए । अमेरिकाको टेक्सास राज्यको कूल जनसंख्या २ करोड ९० लाख छ । यीमध्ये करिब आधा जनताले पानीको संकटको सामना गर्नु परिरहेको छ ।रिपोर्टका अनुसार राज्यको ठूलो क्षेत्रमा ५ दिनसम्म विद्युत आपूर्ति ठप्प रहेपछि पावर प्लान्ट फेरि संचालनमा आएका छन् । तर, २ लाख घरमा शुक्रबार बिहानसम्म विद्युत आपूर्ति हुन सकेको थिएन । बिहीबार दिउँसोसम्म टेक्सासका करिब एक हजार पानी प्रणाली र राज्यका १ सय ७७ काउन्टीमा पानीको आपूर्तिको समस्या कायमै थियो ।

विद्युत आपूर्ति नियमित भएसँगै अब पानी आपूर्ति पनि नियमित हुने अपेक्षा गरिएको छ ।विशेषज्ञले भने हिउँ तताएर बनाइएको पानीको सेवन गर्नेहरुलाई खतरा हुन सक्ने चेतावनी दिएका छन् । अर्कोतर्फ तुफान आएर घर छोडेर गएकाहरु घर फर्किएका छन् तर उनीहरुको भरका भित्ताहरु भत्किएका छन् किनकि रेकर्ड तापमानमा गिरावटका कारण घरमा भएका पानीका पाइप पनि फुटेका छन् । हिउँको तुफानको कारण टेक्सासमा करिब ५० जनाको मृत्यु भएको छ ।