छोराले पिताको १३५ कोठाको भव्य महल १४० रुपैयाँमा बेचिदिए, एउटा कोठाको मूल्य १ रुपैयाँ

काठमाडौं। पितासँग रिस उठेपछि एक युवाले आफ्नो पुर्ख्यौली महल मात्रै १४० रुपैयाँमा बेचिदिएका छन् । यी युवक राजपरिवारका सन्तान हुन् । यो परिवार जर्मनीको पूर्व राजपरिवार हो । छोराले मात्रै १ युरोमा भव्य महल बेचिदिएपछि उनका ६६ वर्षका राजकुमार पिताले ३७ वर्षका छोराविरुद्ध अदालतमा मुद्दा हालिदिएका छन् ।जर्मनीको हनोवर सहरका राजकुमार अर्नस्ट अगस्टले आफ्नो १३५ कोठासहितको मेरिनबर्ग महल सन् २००० मा छोरा अर्नस्ट अगस्ट जुनियरलाई दिएका थिए ।

उनका छोरा अगस्ट जुनियरले २०१८ मा यो महल उचित मूल्यमा सरकारलाई बेच्ने घोषणा गरे । त्यसपछि अर्नस्ट अगस्ट जुनियरले यो महल मात्रै १ युरोमा बेचिदिए । उनले यो महलको मर्मतको लागि २७ मिलियन युरो लाग्ने र यति धेरै पैसा आफूसँग नभएकोले यो महल १ युरोमा बेचिदिएको बताए ।द आर्ट न्युजपेपरका अनुसार अब महललाई बचाउन अर्नस्ट अगस्टले कानुनको सहारा लिँदैछन् र छोराविरुद्ध नै मुद्दा हालिदिएका छन् । उनले आफ्ना छोरामाथि कैयौं गम्भीर आरोप लगाउँदै महल फिर्ता पाउनुपर्ने माग गरेका छन् । यो मेरिनबर्ग महलको निर्माण १८६७ मा भएको थियो ।

राजकुमार अगस्टले आफ्ना छोराले आफूलाई थाहा नदिइ धोका दिएर महल बेचेको बताएका छन् ।उनले छोरामाथि अधिकार र हितको उल्लंघनको आरोप लगाएका छन् । उनले छोराको यो कामका कारण आफू अस्ट्रियामा एक लजमा बस्न बाध्य भएको र बिरामी हुँदा पनि आर्थिक सहायता नपाएको बताएका छन् । राजकुमार अर्नस्ट अगस्ट नोवर राजवंशका हुन् र बेलायती महारानी एलिजाबेथका काकातर्फका भाइ पर्छन् ।