सबैभन्दा ठूलो एनसीसी बन्यो एनआरएन युके, अध्यक्षमा पुनम गुरुङ र शेरबहादुर सुनारको उम्मेदवारी दर्ता

लण्डन । करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठूलो राष्ट्रिय समिति (एनसीसी) कहलिएको गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड गरी ४ राज्य समन्वय परिषद समितिका १० / १०, युनाइटेड किङ्गडम ( यूके) अर्थात् संयुक्त अधिराज्य, बेलायतको केन्द्रीय कार्यसमितिका २७, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यका ७ गरी कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् भने स्कटल्याण्ड र इंग्ल्याण्ड राज्य परिषद एवम् यूके केन्द्रीय समितिका सबै पदमा आवश्यक संख्या भन्दा बढिको उम्मेदवारी परेको छ ।एनआरएन यूकेको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय शेर बहादुर सुनार र पुनम गुरुङको उम्मेदवारी परेको छ । विधानत प्यानल बनाएर चुनाब लड्न नपाइने भएता पनि युके केन्द्रीय कार्यसमिति र इंग्ल्याण्ड एवम् स्कटल्याण्ड राज्य समन्वय परिषदका सबै पदमा दुवै अध्यक्ष उम्मेदवारहरुको प्यानलबाट उम्मेदवारी दर्ता गराइएको बुझिएको छ ।

अध्यक्ष र आइसीसी सदस्यको लागि मनोनयन दर्ता शुल्क १५ सय पाउण्ड अर्थात् करिब २ लाख नेपाली रुपैयाँ रहेकोमा सबै उम्मेद्वारी मनोनयन दर्ता शुल्क बाट १ करोड नेपाली रुपैया संकलन भएको छ।एनआरएन युकेको अहिलेसम्म आफ्नै भबन त छैन नै स्था यी कार्यालय समेत छैन । सदस्यता शुल्कबाट उठेको रकमबाट पनि केही बचत नहुने बताइएको छ ।जम्बो निर्वाचन समिति अनि खर्चिलो र भड्किलो निर्वाचनबाट संस्थाको लागि खासै केही आर्थिक उपलब्धि नहुने अभियन्ता हरुको गुनासो रहँदै आएको छ।यूके केन्द्रीय कार्यसमितिको खुला उपाध्यक्षको २ पदमा वर्तमान उपाध्यक्ष्य प्रेम गाहा मगर, पशुपति पोखरेल, कमल पौडेल, सुनिल खड्का र धन सार्कीसहित ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

महिला उपाध्यक्षमा रोजिना प्रधान राई र विमला लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय कार्यसमिति उपाध्यक्षमा राज्य परिषदको कोटाबाट नर्दन आयरल्याण्डबाट नारायण कंडेल र वेल्सबाट रामचन्द्र पोखरेल निर्विरोध भएका छन् भने स्कटल्याण्डबाट यज्ञ मुर्ति ढकाल र मोहन कार्की गरि २ जनाले उम्मेदवारी दिएका छन् ।अर्को महत्वपुर्ण पद यूके केन्द्रीय महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पा एवम् २ जना सचिवको पदमा विष्णु खरेल ,कोशलेश्वर ( कृष्ण ) ढकाल, जित रानाभाट, भोलाविक्रम राई र भाग्यनारायण रायसहित ५ जनाको उम्मेदवारी परेको छ ।

१ जना महिला सचिवका लागि रञ्जिता मल्ल र लिला सेलिङ माबोले उम्मेदवारी दर्ता गराएका छन् ।कोषाध्यक्षमा तिलकराम भट्टराई र तेजेन्द्र रोका,सहकोषाध्यक्षमा विष्णु चालिसे र सकुन्तला गुरुङ, महिला संयोजकमा प्रसुना कंडेल र क्षमता ढकाल,युवा संयोजकमा हेम गुरुङ, अनिल मल्ल र नविन गुरुङको उम्मेदवारी परेको छ। १२ जना कार्यसमिति सदस्यमा २१ जनाको उम्मेदवारी आएको छ ।अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी )का ७ वटा सदस्यको लागि योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने ,राजन खकुराल, अर्कराज तिम्सिना, अर्जुन कटुवाल , सुरोज मास्के, होमनाथ पौडेल, कृष्ण तिवारी, रमेश शर्मा बांस्तोला, मनिष खड्का, शालिक सापकोटा, सुशिला राई र लिलादेवी गुरुङले उम्मेदवारी दिएका छन् ।

यसैबीच वर्तमान योग कुमार फगामी नेतृत्वको कार्यसमितिको एक उपलब्धिको रुपमा लिइएको समावेसी राज्य परिसद्हरुको निर्वाचनलाई लिएर सरोकारवालाहरुले प्रश्न उठाएका छन् । विधानत राज्य समितिका निर्वाचनहरु तत् राज्यमा नै छुट्टै प्रक्रियाबाट हुनु पर्ने र सामान्यतः राज्य समितिका निर्वाचनहरु सम्पन्न गरेर मात्र केन्द्रको निर्वाचन गर्ने प्रक्रिया हुन्छ । विधान जानकारहरुका अनुसार हाल कायम रहेको विधानको परिच्छेद ९ क २७, १ अनुरुप राज्य समन्वय समितिको निर्वाचन राज्य समन्वय समितिले गर्नुपर्ने उल्लेख छ ।