बालुवाटारमा खैलावैला सुरु, ओलीले बोलाए निकटस्थलाई बालुवाटार

संसद् विघटनको विपक्षमा फैसला आएपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलावैला सुरु भएको छ । फैसलासँगै प्रधानमन्त्री ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।यता नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताएका छन् ।सर्वोच्च अदालतले मंगलबार पुस ५ मा भएको संसद विघटनलाई असंवैधानिक भनेको ठहर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।

अदालतको फैसलापछि प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले भने, ‘सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको छ ।संविधान र लोकतान्त्र रक्षा गर्न काम गरेको छ । राजनीतिक संकट गहिरिएर मुलुक अँध्यारो सुरुङमा जाने खतराबाट जोगाएको छ ।’उनले अघि भने, ‘अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ । उहाँले तत्काल राजीनामा दिनुपर्छ र संसदले अर्को सरकार गठन गर्ने लोकतान्त्रिक प्रक्रिया सुरु गर्नुपर्छ ।’