एक गोल पोलमा लागेर फर्केको छ, नयाँ गोल हान्ने चान्स छ : महेश बस्नेत

प्रधानमन्त्री केपी ओलीनिकट नेता महेश बस्नेतले मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लैजान सुझाब दिएका छन् ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन् –सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु । ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद् विघटन गरी निर्वाचनमा गएको प्रक्रिया विघटन गरेको फैसलाले राजनीति एक दशकसम्म अस्थिरता र विकृतितर्फ फसेको थियो । जिम्मेवार नेतृत्वले त्यो कुरा धान दिएर सुझबुझ पूर्ण कदम चाल्नुहुनेछ।

सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता केपी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ । नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस्। विभाजनकारीहरुलाई एकताको प्रक्रियामा फर्काउनुस् । पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिँडाउनुहोस् । राजनीतिलाई विकृति र विसंगतिमुक्त बनाउनुहोस् । हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाई रहनेछ ।