देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति, देउवालाई भेट्न प्रचण्ड – माधव बुढानिलकण्ठ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निकटस्थहरुसँग परामर्श गरेका छन् । साँझ आफू निकट मन्त्रीहरुसँग परामर्श गर्दै ओलीले भावी रणनीतिबारे परामर्श गरेका हुन् ।ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धन बनाएर जानेबारे छलफल गरेका हुन् । ओलीले प्रचण्ड र माधव नेपाल पक्षलाई रोक्न पनि देउवासँग गठबन्धन गरेर जानेबारे कुराकानी गरेको बुझिएको छ ।देउवालाई प्रधानमन्त्री बनाएर जानेसम्मको रणनीतिबारे ओलीले छलफल गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

उनले कुनै हालतमा प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न नदिने बरु देउवालाई साथ दिने स्पष्ट पारेको स्रोतले बतायो ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि ओलीको सत्ता संकटमा परेपछि नयाँ रणनीतिका साथ बढ्न लागेका हुन् । उनले प्रतिनिधि सभामा अविश्वासको प्रस्तावको सामना गर्ने तयारी समेत गरेका छन् । त्यसपछि उत्पन्न परिस्थितिको विश्लेष गर्दै रणनीति चाल्न लागेका हुन् ।उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ जाने भएका छन्।

प्रतिनिधिसभा पुन : स्थापना गर्ने सर्वोच्चको निर्णय भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव पक्षका दुई अध्यक्ष देउवा भेट्न जान लागेका हुन्। चितवनबाट बिहान विमानमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी गरेका हुन्। देउवानिकट स्रोतका अनुसार अध्यक्षद्वयले भेट्न समय लिएको र केहीबेरमा आइपुग्ने कार्यक्रम छ। संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डले बधाई साटासाट गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए। बुधबार बिहान शीर्ष नेतासहितको कांग्रेस पदाधिकारी बैठक बस्ने तयारी छ। पदाधिकारी बैठकपछि केन्द्रीय समिति बैठक बस्ने र पार्टीको आगामी रणनीतिबारे निर्णय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माधव-प्रचण्ड पक्षले बुधबार संसदीय दलको बैठक बोलाएको छ। दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको हो।