सुनको मूल्य फेरि ८०० ले बढ्यो, तोलाको ७३ हजार ४००

काठमाडौं । पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य बिहीबार फेरि वृद्धि भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ। छापा वाला सुनको मूल्य प्रतितोला ७३ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाला सुन प्रतितोला ७२ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १०० रुपैयाँ पुगेको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ७२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ ।यसअघि प्रतितोला ५÷१० रुपैयाँका दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला १५ रुपैयाँ वृद्धि भएको छ। स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ८९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला ८८० रुपैयाँमा खरीदबिक्री भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५४२.७५ अमेरिकी डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन सघाउ पुगेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।