दोस्रो अभ्यास खेलमा नेपालको धमाकेदार जित

काठमाडौं। यू १९ एसिया कप क्रिकेटका लागि श्रीलंका पुगेको नेपाली युवा टोलीले बिहीबार अभ्यास खेलमा जित हात पारेको छ। पहिलो अभ्यास खेलमा श्रीलंकन क्लब टिमसँग ३ विकेटको हार व्यहोरेको नेपालले बिहीबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकन क्लब टिमलाई ठूलो अन्तरले पराजित गरेको हो।श्रीलंकाको बदुरालिया क्रिकेट क्लबसँगका खेलमा पहिला ब्याटिंग गरेको नेपालले ४६ ओभर ४ बलमा अलआउट हुँदै २०६ रन बनाएको थियो। जवाफमा बदुरालिया २३ ओभर १ बलमा अलआउट हुँदै मात्र ८४ रनमा सिमित भयो। नेपालले खेल १२२ रनको फराकिलो अन्तरले जितेको हो।नेपालका सागर ढकालले ५ ओभर १ बलमा १८ रन दिएर ५ विकेट लिएपछि श्रीलंकन टोली संकटमा परेको हो।

यस्तै पवन सर्राफ र कमल सिंह ऐरीले २–२ विकेट लिए भने कुसल भुर्तेलले एक विकेट लिए।यसअघि नेपालका लागि रित गौतम र हरिबहादुर चौहानले अर्धशतकीय इनिंग खेलेका थिए। गौतमले १२६ बलमा ४ चौकासहित ७६ रन बनाए भने चौहानले ७८ बल खेल्दा ५६ रन बनाए। उनले २ चौका र एक छक्का पनि प्रहार गरेका थिए । यस्तै सन्दीप जोराले २४, मोहम्मद आसिफ शेखले १४, भीम सार्कीले १०, कप्तान रोहित कुमार पौडेलले ३ र खड्गबहादुर बोहोराले २ रन बनाएका थिए।श्रीलंकन क्लब टिमका लागि देविन्दु डिकवालाले सर्वाधिक ३१ रन बनाए।श्रीलंकामा हुने यू १९ एसिया कप खेल्न नेपाली टिम हाल श्रीलंकामा छ ।