रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ माताहत राख्ने निर्णय

काठमाडौं– सरकारले सप्तरीमा निर्माण हुन लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई संघीय सरकार माताहत ल्याउने निर्णय गरेको छ। प्रतिष्ठानलाई संघ अन्तर्गत ल्याएर निर्माणसहितका आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय मन्त्रिपरिषदबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका उपसचिव भवनाथ खतिवडाका अनुसार यो निर्णयसँगै मन्त्रालयले यसको विकास र विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने योजना बनाइरहेको छ।स्वास्थ्य मन्त्री उपेन्द्र यादवको विशेष पहलमा प्रतिष्ठान निर्माणको काम अगाडि बढेको हो।

प्रतिष्ठानको काम अगाडि बढाउन राजविराजमा पूर्वाधार तयारी विकास समितिको कार्यालय समेत उद्घाटन भइसकेको छ। सरकारले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई नै रामराजाप्रसाद सिंहको नाममा प्रतिष्ठान बनाउने निर्णय गरेको हो। कुल ९ अर्बको लागतमा निर्माण हुन लागेको ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को काम तीव्र रुपमा अगाडि बढ्ने मन्त्री यादवले बताउँदै आइरहेका छन्।मन्त्रिपरिषद्को २०७५ पुष २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। प्रतिष्ठानका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ बिघा जग्गा उपलब्ध गराएको छ।