बाँके प्रदेश ५ मुख्यमन्त्री कप च्याम्पियन

दाङ । बाँके जिल्लाको धम्बोजी क्लब बिहीबार सम्पन्न प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिगको उपाधि विजेता बन्न सफल भएको छ । लिग चरणको अन्तिम खेलमा सक्सेस एफसी, दाङलाई ३–२ ले पराजित गर्दै धम्बोजी समग्रमा ५ खेलबाट ४ जित र १ बराबरीका साथ १३ अंक जोड्दै विजेता बनेको हो ।त्यस्तै १२ अंक जोडेको रुपन्देहीको झरना स्पोर्टस क्लब दोस्रो भयो । लिग चरणतर्फ बाँकेसँग शुरुवाती खेलमा हार्नु नै झरनाका लागि महँगो साबित भईदियो । झरनाले लिग चरणको अन्तिम खेलमा रोल्पाको रम्जाबेसी युथ क्लबलाई ६–१ को फराकिलो अन्तरले हराउनुका बावजुद दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै ताराताल युथ क्लब, बर्दियाले तेस्रो स्थान हासिल गर्यो भने राइजिङ स्टार क्लब, नवलपरासी चौथो बन्यो । त्यसैगरी घरेलु टोली सक्सेस एफसी, दाङ पाँचौ स्थानमा रह्यो भने रोल्पाको रम्जाबेसी युथ क्लब छैठौं स्थानमा रह्यो ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा यहि भदौ ५ गतेदेखि बेलझुन्डी रंगशालामा शुरु प्रतियोगितामा प्रदेश ५ का कुल ६ टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेताले ३ लाखमा चित्त बुझायो । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख प्राप्त गर्यो ।