मनाङको तापक्रम माइनस १९ डिग्रीमा झर्‍याे

काठमण्ड, पुस १३ मनाङमा तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको छ। तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। धारा, नदी, खोला र तालको पानी बरफ बनेको छ भने जनजीवन अस्तव्यस्त बन्दै गएको छ। मनाङमा शुक्रबार र शनिबारको तापक्रम माइनस १९ डिग्री सेल्सियस मापन गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए। सदरमुकाम चामेमा २७ र २८ मंसिरमा परेको हिउँ अझै पग्लिएको छैन। चिसो बढेपछि उच्च लेकाली क्षेत्रका गाउँ प्रायः मानवविहीन भएका छन्।

चिसो छल्न स्थानीय काठमाडौं, पोखरा, चितवन लगायतका शहरमा जाँदा गाउँमा मान्छे कम भएका छन्।पाइपमा पानी जमेर बरफ बनेकाले खानेपानीको समस्या भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए। त्यस्तै तराईमा लागेको हुस्सु आइतबार दिनभर पनि नहट्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले लागेको कुहिरो हटेर दिउँसो घाम लाग्ने भए पनि तराईमा भने हुस्सु नहट्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

हुस्सु नहट्ने भएकाले तराईमा आइतबार न्यूनतम र अधितम तापक्रममा खासै अन्तर नहुने र चिसो हुने उहाँले बताउनुभयो । अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि त्यसलाई शितलहर भने भन्न नमिल्ने उहाँको भनाई छ । अझै एक दुई दिन तराईमा लगातार हुस्सु लाग्ने सम्भावना छ । मंगलबारदेखि भने पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावनासमेत भएकाले बिस्तारै कुहिरो हट्ने उहाँले बताउनुभयो । देशका अरु ठाउँमा भने आइतबार र सोमबारको तापक्रममा खासै घटबढ नहुने र बिहानतिर हल्का हुस्सु, कुहिरो लागे पनि दिउँसोतिर घाम लाग्ने सम्भावना भएको उहाँको भनाइ छ ।