टाटाका गाडी किन्दा ९० प्रतिशतसम्म फाइनान्सको सुविधा

काठमाडौं– भारतीय बहुराष्ट्रिय सवारी उत्पादक टाटाका सवारी किन्दा ९० प्रतिशतसम्म फाइनान्सको सुविधा ग्राहकले प्राप्त गर्ने भएका छन्। नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सिप्रदी कम्पनीका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीका तर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सांग्रिला विकास बैंकका प्रमुख कर्जा अधिकारी रंजित मास्केले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

भने सानिमाका रिटेल लेन्डिङ विभाग प्रमुख हेमराज सञ्जेलले हस्ताक्षर गरेका हुन्। भेइकल लोनअन्तर्गत कमर्सियल गाडी, सेमी-कमर्सियल गाडी तथा प्यासेन्जर भेइकल खरिदका लागि दुई बैँकसँग सिप्रदीले भेइकल लोन (गाडी कर्जा)सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो।सम्झौताअन्तर्गत सांग्रिला विकास बैँकबाट भ्याट बिलमा उल्लेख भएबमोजिम मूल्यको ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ। यात्रुवाहक गाडीहरू किन्न भ्याट बिलमा उल्लेख भएबमोजिमको मूल्यको ५० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरिएको सिप्रदीले जानकारी दिएको छ।

कमर्सियल गाडी र सेमी-कमर्सियल गाडीको कर्जा पाँच वर्षभित्र चुक्ता गर्नुपर्नेछ भने यात्रुबाहक गाडीको कर्जा ७ वर्ष भित्र तिरिसक्नु पर्ने व्यस्था गरिएको छ। सानिमा बैँकसँग भने सिप्रदीले च्यासिसको मात्र फाइनान्स गर्ने सम्झौता हस्ताक्षर गरेको छ। भ्याट बिलमा उल्लेख भएअनुसार गाडीको कुल मूल्यको बढीमा ७० प्रतिशत तिर्न चाहने ग्राहकहरूले गाडी कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जा चुक्ता गर्न ग्राहकहरूले पाँच वर्षको समयावधि पाउनेछन्।