ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल-खनाल समूह सहभागी नहुने

काठमाडौँ, ४ चैत । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) संसदीय दलको बैठक बोलाएका छन् । तर उक्त बैठकमा माधव नेपाल-झलनाथ खनाल समूह भने नजाने बताइएकाे छ ।बिहीबार ११ बजे तय गरिएको संसददीय दलको बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल हुने बताइएकाे छ ।

बुधबार मात्रै छुट्टै कार्यकर्ता भेला बाेलाएकाे नेपाल-खनाल समूहले ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा सहभागी नहुने जनाएको हाे ।बुधबार एमाले वरिष्ठ नेता माधव नेपाल समूहले बाेलाएकाे राष्ट्रिय कार्यकर्ता भेलालाई मध्यनजर गर्दै ओलीले सूर्य चुनाव चिन्हबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरेका थिए ।

अध्यक्ष ओलीले गुटकाे भेला गरेमा कारबाही हुने चेतावनी यसअघि नै दिएका थिए ।ओलीले गत फागुन २८ गते एकलाैटी रूमा पदाधिकारीविहीनता अवस्था सृजना गरेकाे र माधव नेपाल समूहका पदाधिकारीकाे जिम्मेवारी खाेसेकाे भन्दै यस समूहले चर्काे असन्तुष्टि जनाइरहेकाे छ ।

साथै उक्त निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएका कुनै पनि बैठकमा सहभागी नहुने यस समूहले बताएकाे छ ।उता नेपाल-खनाल पक्षले बिहीबार पनि राष्ट्रिय कार्यकर्ता भेला बाेलाएकाे छ । बुधबारकाे भेलामा माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।