बालुवाटार गएको टोलीलाई बीचबाटाेबाटै फिर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित हुन बालुवाटार गएकाे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुकाे टाेलीलाइ बीच बाटाेबाटै फर्काइएकाे छ उनीहरु बालुवाटार बैठकमा उपस्थितिमा हस्ताक्षर गरेर फर्किने गरि सानेपाबाट निस्केका थिए।

यसअघि नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमै सांसदहरुको भेला गरेको थियो । यताको भेला सकेर सांसदहरु बालुवाटारको बैठकमा गएका हुन् । फागुन २८ गते अध्यक्ष ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन, पदाधिकारी खारेज, नेताहरुको जिम्मेवारी हेरफेर र महाधिवेशनको मिति तोकेपछि नेपाल समूहले छुट्टै भेला बोलाएको हो ।

हिजोदेखि शुरु भएको भेला आज सकिँदैछ । आफ्नो भेलालाई प्रभावित पार्ने गरी अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएकाले सहभागी नहुने बताएको नेपाल पक्ष अन्तत: पार्टी विभाजन रोक्न भन्दै बालुवाटार जान तयार भएको बताइन्छ ।