ओलीले बोलाएका केन्द्रीय कमिटी बैठकमा गौतम उपस्थित हुने

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले शनिबार बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरु उपस्थित हुनुपर्ने बताएका छन्। ओलीको विरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरु पनि उक्त बैठकमा उपस्थित हुनुपर्ने गौतमले बताए।

शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन्। गौतमले भने, ‘अबको केन्द्रीय कमिटीमा हामी उपस्थित हुनुपर्छ। लडाइँ त्यहीबाट सुरु गर्नुपर्छ।’ उनले प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता लिन त्यही बैठकमा दबाब दिनुपर्ने बताए।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल र खनाल दुवै उत्तिकै दोषी रहेको पनि गौतमले बताएका छन्। खनाल–नेपाल पक्षको राष्ट्रिय भेलाबाट आगामी बैठकमा भाग लिने निर्णय भएको उनको दाबी छ। उनले भने, ‘अब आइन्दा बैठकमा भाग लिने गरी निर्णय गर्नुपर्छ भनेको थिएँ। त्यही निर्णय गर्नुभएछ। पार्टी जोगिने देखियो।’