वामदेव गौतमसहितको एमाले संसदीय दलको बैठक सुरु, नेपाल समूह अनुपस्थित

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए ।पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार डाकेको बैठकमा भाग लिन गौतम बालुवाटार पुगेका हुन् ।एमालेभित्र व्यापक असन्तुष्टी बढेपछि एकता अभियान सुरु गरेका गौतम एमाले ओली पक्ष तथा खनाल–नेपाल पक्षले आयोजना गरेका कार्यक्रममा सहभागि भएका थिएनन् ।