ओलीको ग्ल्यामरबाट लठ्ठ म !

बनिता खनाल– म एक उदारवादी सोचकी महिला हुँ । राजनीतिबाट निरपेक्ष छु । राजनीतिका वाद वा सिद्धान्त, दलहरूका संगठन वा अनुशासन मेरो मतलबका विषय होइनन् । समाजमा प्रदर्शित विचार वा व्यवहारप्रति खुल्लमखुला टिप्पणी गर्ने गर्छु । मेरो टिप्पणीले कसलाई नाफा वा घाटा हुन्छ, मतलव पनि छैन ।

मैले अवश्य पनि राजनीतिक दलमा सहभागी नभएका मेरो पुस्ताका युवाहरूको प्रतिनिधित्व गर्दछु । त्यसैले आज म मेरो पुस्ताका जनताले प्रधानमन्त्री ओलीका बारेमा के सोच्छन् भन्ने यस लेखमार्फत् उजागर गर्न गइरहेकी छु । राजनीतिक विषयवस्तुमा यो मेरो पहिलो लेख हो ।

मलाई सबै राजनीतिज्ञ उस्तै लाग्थे । सबै नेता सरदर हुन् । त्यसैले एउटाले गरेको गल्तीमा सबैलाई गाली गर्ने र एउटाले गर्ने राम्रो काममा सबैलाई तारिफ गर्ने गर्थेँ । तर पछिल्लोपटक राजनीतिमा देखिएका घटनाक्रमले म प्रधानमन्त्री ओलीको फ्यान नै बन्न पुगेँ । मजस्ता राजनीतिबाट टाढा रहेको पुस्ताका लागि अहिले प्रधानमन्त्री ओली आकर्षणको केन्द्र बन्न पुगेका छन् ।

कोरोनाका बेला ‘बेसार पानी र हाछ्युँ’ जस्ता कुरा गरेर ओलीले तर्क दिँदा मलाई उनी बकवास कुरा गर्छन् जस्तो लागेको थियो । देशको प्रधानमन्त्री जस्तो पदमा बसेर यस्तो हल्का कुरा गरेको देखेर मैले पनि सामाजिक सन्जालमा खुलेर बिरोध गरेको थिएँ । त्यो तर्कलाई आज पनि म स्वीकार्न सक्दिनँ ।

जति उनका सम्वादहरू सुन्थेँ त्यति धेरै उनीसँग रिस उठ्थ्यो । मैले प्रमको भाषण र अन्तर्वार्ताहरू ढुकेरै सुन्ने गरेकी थिएँ । उनले कहाँ गल्ती बोल्छन् र सामाजिक सञ्जालमा त्यो कुराको विरोध गरूँ भन्ने हेतुले हेर्थेँ र मन नपर्ने कुरा गर्नासाथ उनको विरोधमा ठोकेर लेख्ने गर्थेँ पनि ।

यस्तै गरिरहँदा, प्रचण्ड र माधवकुमार नेपालसँग उनको विवाद सुरु भयो । प्रधानमन्त्री ओलीलाई बनाएको छ, तर उनलाई हलचल नै गर्न नदिनेगरी घेराबन्दी गरेको छ । बाहिर एउटा कुरा प्रदर्शन गरेको छ, भित्र अर्कै कुरामा लडाईँ लडेको छ । सरकार बनाउने र ढाल्ने, अनि त्यसबाट फाइदा लिने लत लागेका मिडियाले आफ्नो स्वार्थ अनुसारका प्रचार गर्ने नै भए ।

यहाँ त मैले मिडिया नै देखिनँ । उनीहरूले यथार्थ समाचार कहिल्यै दिएनन् । बरु उनीहरू को कसको पक्षमा छन् र कसको विक्षमा छन् त्यो मात्रै लेखे । सँगसँगै ओली बिरुद्ध नागरिक आन्दोलन पनि अघि सर्‍यो । सडकमा उत्रिएका सबै जनाले ओलीलाई हटाउने सक्दो प्रयास गरे । त्यसपछि मलाई ओलीको विकल्प माधव नेपाल वा प्रचण्ड हुन सक्दैनन् भन्ने अनुभुति भयो ।

नागरिक आन्दोलनले बाहिर भन्थ्यो एउटा कुरा भित्र उद्देश्य हुन्थ्यो अर्काे । भित्र उद्देश्य अर्कै लिएको, बाहिर अर्कै कुरा गरेको त्यस्तो नागरिक आन्दोलनको साथ दिनु भनेको ओलीलाई हटाउने र ओलीभन्दा पनि बत्तर नेतालाई कुर्सी दिलाउने मात्र थियो भन्ने देखिएकै हो । ओली होस् या अरु कोही हामीलाई के नै फरक पथ्र्याे र ? बेक्कारमा भैरहेको सरकारलाई किन गिराउने भन्ने लाग्न थाल्यो ।

ओलीले ‘इगो’ वा हठले भए पनि गर्न खोजेको र गर्न चाहेको कुरा राम्रा नै छन् । विकासका परियोजनाहरू धमाधम निर्माण गर्ने र देशको सिमानाको रक्षा गर्ने उनी जत्तिको ह्याउ भएको अहिलेसम्म त यी नेताहरूमध्ये कोही देखिएको छैन । यसर्थ मलाई प्रचण्ड वा माधव नेपालभन्दा त ओली नै ठीक हुन् जस्तो लाग्यो ।

कसैलाइ चित्त बुझोस् कि नबुझोस् ओलीलाई जनता र एमालेले आफैँ चुनेका हुन् । र उनी संवैधानिक प्रक्रियाबाट बनेका प्रधानमन्त्री हुन् । जम्मा २ बर्ष हो उनको बाँकी रहेको कार्यकाल । यसलाई अहिले नै किन गिराउनुपर्‍यो ? अरुले के–के गर्छन् भन्ने नदेखेको र परीक्षण नगरेको पनि होइन । उनको ठाउँमा प्रधानमन्त्रीका अरु आकांक्षीका अनुहार राखेर तुलना गरी हेरेँ ।

प्रचण्ड ? माधवकुमार नेपाल ? शेरबहादुर ? नाइँ । यिनीहरू ओलीको छेउमा पनि पुग्न सक्दैनन् । उनीहरू आउँदा मिडियाले सरकारका कामको प्रगतिबारे सकारात्मक समाचार चाहिँ लेख्न सक्छन् । तर, काम त केही हुन्न । जनताको जीवन त झन् तलतल जान्छ । ओली त ‘इगो प्रब्लम’ का कारण पनि काम गर्छन् ।

अनि मेरो ओलीप्रतिको गुनासो केही कम भयो र मलाई उनको कुरा सकारात्मक लाग्न थाल्यो । उनले दिएका आजसम्मका भाषण र अन्तर्वार्तालाई फर्किएर सोच्दा केही राम्रा कुराहरू देख्न थालेँ । उनी आलोचना र समर्थनको ख्याल गर्दैनन्, लागेको कुरा नलुकाई गर्छन् । आफ्नो कार्यकालमा मुलुकमा केही जग बसाल्ने र राजनीति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनको सोच देखिन्छ ।

नेपालप्रेससँग उनले दिएको अन्तरवार्तामा उनको भनाईको सार मलाई मन पर्‍यो । राजनीति भनेको नेताका स्वार्थहरूको व्यवस्थापन मात्रै हो भन्ने जुन मानक मिडियाहरूले स्थापित गरेका छन् र नेताले बाँडीचुँडी खानुलाई सफलता ठान्ने जमात बन्दैछ, त्यसलाई ओलीले तोडे ।

नेताहरू सबैलाई भाग मिलाएको खोइ ? मिडियामा प्राय आउने प्रश्नको सार यही नै हो । जनतालाई डेलिभरी दिने कुरामा मतलब छैन, नेतालाई भाग नदिएको कुरा नै हाम्रो राजनीतिको मुख्य प्रश्न बन्यो । ओलीले त्यसको विपरित अडान लिए र अनावश्यक झगडा छोडौँ देशका लागि काम गरौँ भने । ओलीप्रति मिडियाको चिड्चिडाहट त्यसैमा देखियो ।

जनता के चाहन्छन्, ओली त्यही स्टेप चाल्छन् भन्ने कुरा मलाई पछिल्लोपटक अनुभूति भाइरहेको छ । अन्तरवार्ताकार मात्रिका पौडेलजीले सोध्नुभयो ‘पार्टीमा तपाईंपछि तपाईंको पद सम्हाल्ने नेता नै छैनन् भन्छन नि, यो साँचो हो ? र तपाई कसले नेतृत्व गरेको हेर्न चाहनुहुन्छ ?’

यस प्रश्नमा प्रम ओलीको उत्तर थियो ‘हज्जारौ छन् र अरु पनि निस्किन्छन् ।’अन्तर्वार्ताको अन्तिमतिर सोधिएको प्रश्नको उत्तरले ओलीप्रति मेरो सम्मान जाग्यो ।ओली आफैँले मेरो विकल्प छैन भनेका छैनन् । उनी कसरी घमण्डी भए ? पदकै लागि राजनीति गर्नेहरूलाई हामीले किन साथ दिने ? हामीले किन भइरहेको सरकार ढाल्ने ? ओली कुरा लुकाउदैनन्, उनी सबै कुरा प्रष्ट भन्छन्, उनलाई मिडियाले के भन्ला भन्ने डर छैन ।

मिडियाले आफ्नो स्वार्थका लागि जे पनि लेखेको हामीले देखेका छौँ । नेताले भन्दा धेरै राजनीति त ठूला भनिएका मिडियाका सम्पादकहरूले गर्दैछन् । तिम्रा समाचार पढेपछि हामीलाई भ्रमको खेती गर्न खोजेको जस्तो लाग्छ । मजस्ता जनताले तिमीहरूको असलियत बुझिसकेका छन् ।

कुर्सीमा बसेको भोलिपल्टदेखि कुर्सी जोगाउने अभियान सुरु गर्न नेपाली नेतालाई बाध्य बनाइन्छ । यी ठूला मिडियाहरूले ढुक्कसँग देशको लागि काम गर्न दिँदैनन्, जनता भड्काउँछन् ।मलाई पछिल्लोपटक त के लागेको छ भने, आजसम्म नेपालमा ओलीजस्तो उच्च मनोबल भएको प्रम थिएन र सायद भविष्यमा पनि सायद नहोला ।

दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका उनलाई के कुराले यति धेरै ऊर्जा र जाँगर दिन्छ होला म छक्क पर्छु । म आफू पनि बिरामी भएका कारण उनको आत्मबल देख्दा खुसी हुन्छु ।नेताहरूका अनुहारमा देखिने गम्भीरताको म कहिल्यै सकारात्मक परिणाम आउँछ भन्नेमा विश्वास गर्दिनँ ।

बरु उनीहरू लोभी, स्वार्थी र आत्मविश्वासबिहीन छन् भन्ने लाग्छ । जहिले पनि ठुस्स परेर बस्ने उनीहरूबाट कसरी जनता खुसी हुन सक्छन् ? ओली उनीहरूभन्दा फरक छन् । जहिले पनि चिटिक्क, हँसिलो, ग्ल्यामरस मुद्रा प्रस्तुत हुने जोश–जाँगर उनीमा कताबाट आउँदो हो ?

उनले नेपालको राजनीतिलाई नयाँ मोड दिएका छन्, नयाँ नाम दिएका छन् । ‘आइ हेट पोलिटिक्स’ भन्ने म जस्ता युवाहरू प्रमको भाषण सुन्छन्, उनको बोलीमा नै नशा भएकोजस्तो महसुस गर्छन् ।आजसम्म अँध्यारो अनुहारका, हाँस्न र हँसाउन नजान्ने कथित सिरियस प्रधानमन्त्री मात्र देखेका नेपालीले पहिलोपटक रसिक स्वभावका प्रधान्मन्त्री पाएका छन् । अन्त्यमा यति भन्न चाहन्छु, ओलीले नेपालको राजनीतिमा ‘ग्ल्यामर’ थपेका छन् ।