माधव नेपालले ४ सयभन्दा बढी युवालाई एमाले प्रवेश गराए

काठमाडौं, ७ चैत्र । नेकपा एमालेका नेता माधवकुमार नेपालले ४ सयभन्दा बढी युवालाई पार्टी प्रवेश गराएका छन् । आज राष्ट्रिय सभागृहमा आफूनिकट युवा संघको राष्ट्रिय भेलामा पार्टी प्रवेश गराएका हुन् ।एमाले प्रवेश गर्नेहरुमा विगतमा नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतसँग आवद्ध युवाहरु छन् ।

एमालेभित्र नेता नेपालको अध्यक्ष केपी शर्मा ओलीसँग टकराव बढ्दै जाँदा पार्टी प्रवेश गराएका हुन् ।उता नेकपा एमालेले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहाचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ ।

सुरुमा केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई पनि स्पष्टीकरण सोध्ने भनिएको थियो । केन्द्रीय सदस्यहरुले अष्टलक्ष्मी शाक्यलाई पनि कारबाही गर्नुपर्ने माग गरेका थिए । तर हाइट नपुगेको भन्दै अध्यक्ष ओलीले शाक्य र झाँकीलाई स्पष्टीकरण नसोध्ने बताएको एक केन्द्रीय सदस्यले बताए ।बालुवाटार बैठकले समानान्तर रुपले जनसंगठन बनाउने सबैलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।