२०२१ का ३८०१ जना डिभी विजेताले भिसा पाउन सुरु गरे !

डिभी २०२१ का विजेताहरुले भिसा पाउन सुरु गरेका छन् । गत अक्टोबरबाट नै भिसा पाउनुपर्ने भएपनि ट्रम्पको आप्रवासन रोकका कारण उनीहरुले मार्चबाटमात्र भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाउनेछन् ।आगामी मे महिनामा ५१ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् ।

अप्रिलमा ४५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरु भिसाका लागि योग्य हुनेछन् ।अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी भिसा बुलेटिन अनुशार मे महिनाका लागि डिभी विजेता नेपालीहरुको कटअफ केस नम्बर उल्लेख गरिएको हो ।

अहिले ४२ सय सम्म केस नम्बर हुने डिभी विजेताहरुले भिसा पाइरहेका छन् ।तर कोरोना महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको भिसा जारी गर्ने क्षमता प्रभावित भएका कारण सुरुतिर केस नम्बर हुनेहरुले छिटो भिसा पाइरहेका छन् । अमेरिकी दूतावास काठमाडौंले एकमहिनामा ५ सयसम्म डाइभर्सिटी भिसा जारी गर्नसक्ने क्षमता राख्ने विगतको रेकर्डले देखाएको छ ।

तर अन्य श्रेणीका पनि भिसा जारी गर्न सुरु गरिएकाले दूतावासले कतिजनालाई भिसा जारी गर्नसक्छ त्यो हेर्न प्रतिक्षा गर्नुपर्ने भएको छ ।गत सेप्टेम्बरमा अदालतको आदेशपछि झण्डै ३ साताको अवधिमा झण्डै ४ सय जनालाई भिसा जारी गर्न अमेरिकी दूतावास काठमाडौं सक्षम भएको थियो ।

मासिक ४ सयको हाराहारीमा डिभी विजेताहरुलाई भिसा जारी गर्न सकेको खण्डमा सेप्टेम्बरसम्म ३५ सयसम्मलाई भिसा जारी गर्न सकिनेछ ।अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए ।प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए ।पासपोर्ट अनिवार्य गरिएका कारण सन् २०२० को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्याको तुलनामा २०२१ को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्या भने कम भएको छ ।

सन् २०२० को डिभी लोटरीमा १० लाख २६ हजार ४२३ नेपालीहरु सहभागीहरु रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ३७ हजार ६ सय ९६ जना र उनीहरुका परिवारका सदस्यहरु ३ लाख ८८ हजार ७ सय २७ रहेका थिए ।सन् २०१९ का लागि डिभी लोटरी कार्यक्रममा सहभागी नेपालीहरुको संख्या १० लाख ९२ हजार ३५ जना रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ८४ हजार १ सय ८० जना रहेका थिए भने उनीहरुका परिवारका सदस्यहरु ४ लाख ७ हजार ८ सय ५५ जना रहेका थिए ।खसोखास