कतारमा अब न्यूनतम तलब ३० हजार

काठमाडौँ । कतारले शनिबारदेखि लागू हुने गरी आप्रवासी श्रमिकका लागि न्यूनतम तलब तोकेको छ ।कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित गरेको थियो र त्यसपछि प्रक्रिया सुरु भएको थियो ।

प्रशासनिक विकास श्रम तथा समाजिक मन्त्रालयले खाना र बस्नेबाहेक अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो ।जुन घरेलु कामदारको हकमा समेत लागू हुनेछ । मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्यरुपमा न्यूनतम तलब सुविधालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ ।

खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो । यो तलब कतारमा कार्यरत र नयाँ भिसा लिइ जाने सबैको हकमा लागू हुनेछ ।सबै श्रमिकको कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्णरुपमा पाउने विश्वास कतारस्थित नेपाली दूतावासले गरेको जनाएको छ ।

नयाँ तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बनेको छ ।तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र समेत बनाएको छ । तलब नपाएको खण्डमा श्रमीकहरूले सीधै प्रशासनिक विकास श्रम मन्त्रालयमा उजुरी दर्ता गराउन सक्नेछन् ।