३ पटकसम्म ल्याण्ड गर्ने प्रयास विफल, विमान हावामै घुमिरहेपछि यात्रुहरुको रुवाबासी

काठमाडौं। यात्रुवाहक विमान १ घण्टासम्म समेत ल्याण्ड गर्न नसकेर हावामै घुमिरहेपछि विमानभित्र भएका यात्रुहरु त्रसित भएर रुन थाले । पाइलटले विमान ल्याण्ड गराउन ३ पटकसम्म प्रयास गरे तर सबै प्रयास विफल भए ।

गुजरातको अहमदाबादबाट राजस्थानको जैसलमेरका लागि उडेको स्पाइसजेटको विमान ल्याण्ड गर्न नसकेपछि अन्ततः अहमदाबाद नै फर्किनुपर्यो ।टाइम्स अफ इण्डियाका अनुसार स्पाइसजेट एसजी ३०१२ को उडान शनिबार दिउँसो १२ बजेर ५ मिनेटमा अहमदाबादबाट उडेर करिब १ बजे जैसलमेर पुगेको थियो ।

पाइलटले ३ पटकसम्म विमान ल्याण्ड गराउने प्रयास गरे तर प्राविधिक कारणले ल्याण्ड हुन सकेन । २ बजेसम्म ल्याण्ड गर्न नसकिएपछि अन्ततः पाइलटले विमान अहमदाबाद नै फर्काए र २ बजेर ४० मिनेटमा अहमदाबादमा सफल ल्याण्ड भयो । करिब २ घण्टापछि उक्त विमान अहमदाबादबाट पुनः उड्यो र सवा ५ बजे जैसलमेर पुगेर सफलतापूर्वक ल्याण्ड भयो ।