यी अफ्रिकी गायिकाले गाइन नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ (भिडियो)

काठमाडौं । पछिल्लो समय नेपाली संगीतप्रेमीमाझ तहल्का पिटिरहेको गीत हो, राजनराज सिवाकोटीकृत फुलबुट्टे सारी । यूट्युवमा भ्युजको बाढीसँगै यो गीतका थरिथरि संस्करणहरु सार्वजनिक भइरहेका छन् । हुँदा–हुँदा यो गीतले विदेशीलाई पनि आकर्षित गरेको छ ।

युगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले गाएको फुलबुट्टे सारीको कभर गीत हालै सार्वजनिक भएको छ । उनको गीतलाई नेपाली दर्शक–स्रोताले मन पराएका छन् । टिकटकमा गीतको भिडियोले लाखौं भ्यूज बटुलिसकेको छ ।शब्दोच्चारणको सुद्धतामा धेरै त्रुटी भए पनि गीतको लयमा भने वियोन्सले निकै ध्यान दिएकी छन् ।

यो गीत उनले नेपालमा नै बनाएकी हुन् । डिजिटल काठमाडौंमा गीत रेकर्ड गरिएको छ भने पोष्ट प्रोडक्सन हाम्रो म्युजिकमा गरिएको छ । डिका गुरुङले भिडियो डाइरेक्सन गरेका छन् । भिडियोमा वियोन्स स्वयम् फिचर्ड छिन् ।वियोन्सले यसअघि एउटा नेपाली म्युजिक भिडियो र एउटा टेलिसिरियलमा समेत अभिनय गरेकी थिइन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले फुलबुट्टे सारीको कभर गीतका लागि वियोन्सलाई धन्यवाद दिएका छन् । उनको आवाजको पनि श्रेष्ठले तारिफ गरेका छन् ।कभर गीत सेयर गर्दै उनले रमाइलो शैलीमा फेसबुकमा लेखेका छन्, ‘यी युगाण्डाकी गायिकाले सपक्क फुलबुट्टे लुगा नै लगाइवरी कभर संगको रुपमा गायकी कति राम्रो कति मिठो । सुहाएको पनि उस्तै … आम्मामामा… बाब्बाबाबा… ओहोहोहो…’

नेपाली गीत संगीतलाई मन पराइदिएकोमा वियोन्सलाई भेटेरै धन्यवाद दिन चाहेको मदनकृष्णले उल्लेख गरेका छन् ।‘तर घर कहाँ हो, युगाण्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कतबााट हो, केही थाहा छैन….हाहा ।फुलबुट्टे सारीको लिजेन्ड भर्सन मदनकृष्णले गाएका छन् ।

यसअघि यो गीतका विभिन्न भर्सनहरु मार्मिक लामा, मिलन अमात्य र आरिश्मा शिवाकोटीको स्वरमा तयार भएको छ । मिलनले गाएको लेडी भर्सन सबैभन्दा चर्चित छ ।यसलाई चार करोडभन्दा बढीपटक हेरिसकिएको छ । वियोन्सले गाएको कभर सङले पनि राम्रो भ्युज बटुलिरहेको छ ।भिडियो