नक्कली ‘सहायक सिडिओ पक्राउ !

काठमाडौं- ‘सहायक सिडिओ हुँ’ भनी ठगी गर्ने २८ वर्षीय दीपक बिसीलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट जिल्ला साविक साल्मा गाविस-९ (छेडागाउँ नपा-२) स्थाई घर भएका बिसीलाई सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

बिसीले आफू सहायक सिडिओ भएको र हाल गृह मन्त्रालय अन्तर्गत काम गर्ने भनी गृह-मन्त्रालयमा जागिर लगादिने प्रलोभन पारी दुई जनालाई ५ लाखका दरले ठगी गरेको सूचना महाशाखामा आएपछि महानगरीय प्रहरीले उनलाई पक्राउ गरेको हो।

पाँचथरकी एक महिलालाई सहायक महिला विकास निरीक्षकमा र अर्का एक व्यक्तिलाई नासु पदमा जागिर लगाइदिन्छु ठगी गरेको प्रहरीले जनाएको छ। दुवै जनाबाट १० लाख माग गरेको र ५ लाख लिइसकेकोसमेत प्रहरीले जानकारी दिएको छ। बिसीका साथबाट राप द्वितीय श्रेणीको नक्कली परिचयपत्र समेत बरामद भएको छ।

बिसीलाई काठमाडौं ल्याई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ। यसअघि पनि उनी दैलेखबाट पक्राउ परी केही सार्वजानिक अपराधका मुद्दा चलाइएका व्यक्तिसमेत भएको प्रहरीले जानकारी दिएको छ।