माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।त्यसबारे छलफल गर्न उक्त पार्टीको स्थायी समिति बैठक बस्दैछ । एक स्थायी समिति सदस्यका अनुसार सर्वोच्च अदालतले एमाले–माओवादी एकीकरण खारेज गरेको लामो समयसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोबारे विभिन्न टिकाटिप्पणी हुन थालेकाले समर्थन फिर्ताको मनस्थितिमा पुगिएको बताए ।

काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । माओवादीले समर्थश्न फिर्ता लिनेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले ओलीलाई विश्वासको मत दिन सक्ने भन्दै देउवाले समर्थन तत्काल फिर्ता नलिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्मपतको सरकारमा रुपान्तरण हुन्छ । संवैधानिक व्यवस्थाअनुसार त्यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके सरकारको वैधता समाप्त हुन्छ ।

माओवादी केन्द्रले ओलीको विकल्पमा काँग्रेस र राजपासँग मिलेर नयाँ सरकार गठनको कसरत गर्दै आएको छ । तर, काँग्रेस सभापति देउवा र राजपाको ठाकुर–महतो समूह ओलीको विकल्प खोज्न इच्छुक देखिएको छैन । रामचन्द्र पौडेल समूहले ओलीलाई हटाएर प्रधानमन्त्री बन्न दबाब दिए पनि देउवा प्रधानमन्त्रीका लागि तयार छैनन् ।