पार्टी फुटाएर पनि ओलीलाई सहयोग गर्ने जसपामा ‘होमवर्क’

काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) मा सरकारमा जाने कि नजाने भन्ने विषयमा तीव्र मतभेद छ ।जसपाभित्र पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) पक्षधर ओली नेतृत्वकै सरकारले माग पूरा गरेमा जानुपर्ने तयारीमा छन् तर पूर्वसमाजवादी पार्टी ओलीको विपक्षमा छन् ।

संसद् विघटन, संविधानको कार्यान्वयन र संघीयता समाप्त पार्न ओली नै लागेको आरोप लगाउँदै पूर्वसमाजवादी पार्टीका नेताहरुले सार्वजनिकरुपमा ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आएका छन् ।सोमबार पूर्वराजपाका सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक छलफलमा जुटेका थिए ।

छलफलमा ओली नेतृत्वको सरकारमा जाने विषयमा छलफल भएको भए पनि कुनै टुंगोमा नपुगेको एक सांसदले बताए । एक सांसदले भने, “हामीले अहिले ओलीलाई समर्थन गर्न हुँदैन भन्ने कहाँ लेखेको छ र ? हामीले भनेको त हाम्रो माग पहिले पूरा गर । माग पूरा भयो भने हामी ओलीकै सरकारमा जान पार्टीभित्र पनि दबाब दिन्छौँ । त्यसबेला हुँदैन भनेर कसले भन्छ ?”

सिंहदरबारमा भएको छलफलमा उपेन्द्र यादव र बाबुराम भट्टराई निकटका सांसद भने उपस्थित थिएनन् ।पूर्वसमाजवादी समूहले नमाने पार्टी फुटाएर पनि सरकारमा जानुपर्नेसम्मको बहस पूर्वराजपा समूहभित्र चलिरहेको छलफलमा सहभागी एक सांसदले बताए ।तर जनता समावादी पार्टीका नेता राजेन्द्र महतोले अहिले पार्टीभित्र कुनै विवाद नरहेको बताए ।

उनले अहिले आफूहरुको माग जसले पूरा गरिदिन्छ उसैसँग सहकार्य हुने बताए ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने पनि संविधान संशोधन हुने अवस्था नरहेको र रेशम चौधरी रिहा गर्नका लागि सम्भावना नभएको निष्कर्ष पूर्वराजपा समूहमा देखिएको छ ।

त्यसैले ओली नेतृत्वको सरकारमा सहभागी हुँदा संविधान संशोधन गर्न नसके पनि चौधरी रिहाइ, थरुहट र मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गराउन सकिने भएकाले यही सरकार ‘कम्फर्टेबल’ हुने पूर्वराजपा समूहका नेताहरुको निष्कर्ष रहेको सोमबार छलफलमा रहेका एक सांसदको निष्कर्ष छ ।

जसपा स्रोतका अनुसार भट्टराई आफ्नै नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भन्ने कसरतमा पनि लागेका छन् । तर, जसपाले नेतृत्व गर्ने अवसर आए ठाकुर प्रधानमन्त्री बन्नुपर्ने मत पनि जसपाभित्र बलियो देखिएको छ । उपेन्द्र र बाबुराम निकट सांसदहरुले पनि छुट्टै अनौपचारिक भेला गरिरहेको यादव निकटस्थ बताउँछन् ।