सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलकोनमा जाने भएको छ ।मंगलबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटी बैठकले एमाले र मा‌ओवादी केन्द्र ब्युँताउने फागुन २३ को अदालतको फैसलाको पुनरावलोकन गरी नेकपामै फर्काउन माग गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय कमिटी बैठकले पनि पुनरावलोकनमा जाने यसअघि नै निर्णय गरिसकेको छ ।मंगलबार बिहान शीर्ष नेतृत्वले पुनरावलोकनमा जाने विषयमा कानून व्यवसायीहरूसँग छलफल गरेको थियो ।कानून व्यवसायीहरूले सुझाव अनुसार चाँडै पुनरावलोकनमा जाने प्रमुख सचेतक देव गुरुङले बताए ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा सर्वोच्चले निर्णय सुनाउने क्रममा नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको थियो। त्योसँगै सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएको निर्णय पनि सुनाएको थियो।

उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए। नाम जुधेको खण्डमा अर्को नाम राख भन्ने निर्देशन दिनुको सट्टा सर्वोच्चले नेकपा नै भंग गर्ने राजनीतिक फैसला सुनाएर पार्टी एक हुन नदिने चाल चलेको भन्दै नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष पनि रुष्ट छ।