केपी ओली पार्टी छाडेर गए हुन्छ, एमाले हाम्रो हो : माधव नेपाल

काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै १० बुँदे स्पष्टीकरण पत्र काटेपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी नेतृत्वप्रति अझ आक्रामक देखिएका छन् । स्पष्टीकरणले नतर्सने भन्दै उनले जनवर्गीय संगठनसँगै जिल्ला कमिटीहरुको भेला गर्ने बताए ।

एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र सहभागी ७ चैतको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरेलले सोमबार पठाएको पत्रमा नेता नेपालमाथि १० बुँदे आरोप लगाएका छन् र तीनदिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

त्यसको भोलिपल्ट मंगलबार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुले गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता नेपाल प्रमुख अतिथि थिए । नेपाल समूहका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु उपस्थित भेलालाई सम्बोधन गर्दै उनले ‘कथित स्पष्टीकरण’बाट नतर्सिने बताए ।

मंगलबार मात्र एक नेताले आफूलाई भेटेर ‘कमरेड केपी ओलीसँग मिल्नुस्, जेजे कारबाही नै गरे पनि सहिदिनुस्’ भनेको भन्दै उनले सहभागीहरुलाई प्रश्न गरे, ‘के हामी घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ?’(हलबाट होइन भन्ने चर्को अवाज आयो) उनले पनि भने, ‘यो हामीलाई किमार्थ मन्जुर छैन ।

केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौं, आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।’तत्कालीन राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रका साथै कांग्रेसका नेताहरुसँग डिल गरेको, विदेशीका दबावसामु नझुकेको र पार्टीमा आएका हरेक सामस्या सामना गरेरआफू यहाँसम्म आएको भन्दै उनले भने, ‘कस्ता कस्ता कहाँ आए, केपी ओली मेरो सामुन्नेमा ।

केपी ओलीसँग लड्नु ठूलो कुुरा होइन ।’‘यिनका चुरीफुरीहरु प्रधानमन्त्रीको कुर्सीमा बस्दासम्म मात्र हो । जब प्रधानमन्त्रीको कुर्सीबाट सडकमा उत्रिनेछन्, केपी ओली प्रवृत्तिको हावा खुस्किनेछ ।’२२ सालमा राजनीतिमा होमिएको आफू बाधा पन्छाउँदै नदी अगाडि बढेजस्तै अगाडि बढेको उनले सुनाए ।

यो ठाउँसम्म आउन साथ दिएको भन्दै केही नेताको नाम लिए । कतिले साथ छाडेको भन्दै उनले भने, ‘ठाउँमा पुर्‍याइएकाले धोका दिएकाहरु पनि सम्झिइरहेको छु ।’नेता नेपालले अघि भने, ‘हामी तर्सिएका छैनौं, मैदान छोडेर भाग्ने वाला पनि छैनौं । पार्टी पनि फुटउँदैनौं । पार्टी फुटाउँछन् भने केपी ओलीले फुटाउँछन् ।’