बेलायतको राजपरिवारले पायो नेपाली बालबालिकाको सुन्दर भिडियो–‘नमस्कार मेघन एण्ड ह्यारी’

लण्डन । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले नेपालका बालबालिकाहरुले पठाएको एउटा भिडियो प्राप्त गरेर सार्वजनिक इन्स्ट्राग्राममा सार्वजनिक गरेका छन् । ड्युक एण्ड डचेस अफ ससेक्सले यो वर्षको सुरुमा संयुक्त इन्स्ट्राग्राम बनाएका थिए । उनीहरुले हरेक महिना इन्स्ट्राग्राममा ‘फोर्सेज फर चेन्ज’को रुपमा मासिक विशेष थिममा आधारित सामग्री राख्दै आएका छन् ।यो महिनाको सुरुमा यी जोडीले संसारमा फरक पार्ने ग्रासरुट तहका संस्थाहरुको बारेमा सुझाव मागेका थिए ।जसलाई उनीहरुले आफ्नो इन्स्ट्राग्राममा हाइलाइट गरेर प्रोत्साहित गर्न चाहेका थिए ।

उक्त सामग्री मेघन अतिथि सम्पादक रहेको बृटिश भोग म्यागेजिनको सेप्टेम्बर अंकमा समेत समावेश गरिनेछ । उनीहरुले आफ्ना ९ दशमलब ४ मिलियन इन्स्ट्राग्राम फलोअर्सलाई त्यसका लागि आग्रह पनि गरेका थिए । बुधबार उनीहरुले ब्लिंक नाउ फाउण्डेसन लाई हाइलाइट गरे । सो संस्थाले नेपालका बालबालिकालाई सशक्तिकरण गर्न भूमिका खेलिरहेको जनाइएको छ । सो संस्थाबाट फाइदा लिइरहेका बालबालिकाको भिडियोसमेत त्यसमा सार्वजनिक गरिएको छ । त्यसमा नेपाली बालबालिकाले अभिवादन गर्दै भनेका छन्—‘‘नमस्कार मेघन र ह्यारी ।’’

बालबालिकाले अगाडि भनेका छन्, ‘‘यहाँहरुले ब्लिंक नाउलाई परिवर्तनको लागि बल (फोर्सेज फर चेन्ज)को रुपमा रोज्नुभएकोमा हामी धन्य भएका छौं । हामी यहाँहरुको समर्थनको स्रहाना गर्दछौं ।’’ उनीहरुले त्यसपछि सो संस्थाको बारेमा पनि जानकारी दिएका छन् । संस्थाले गरेका राम्रा कामको समेत उल्लेख गरेका छन् । सो संगठनले सुर्खेतको कोपिला भ्यालीमा शिक्षाको काम गर्दै आएको त्यसमा जनाइएको छ । (एजेन्सी)