जापानमा जग्गाको भाउ ह्वात्तै घट्यो

टोकियो । जापानमा जग्गाको औसत मूल्य ६ वर्षमा पहिलो पटक घटेको छ । कोरोना भाइरसको महामारीबीच शहरी क्षेत्रमा व्यवसायिक जग्गाको माग घटे सँगै भाउ पनि घटेको हो ।आवासीय र औद्योगिक समेत सबै श्रेणीका जग्गाको भाउ गत वर्षको सोही अवधिको तुलनामा जनवरी १ सम्ममा शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

गत वर्षको सोही अवधिमा भने भाउ १ दशमलव ४ प्रतिशतले बढेको थियो ।तीन ठूला महानगर टोकियो, ओसाका र नागोयामा सबै खालका जग्गाको भाउ अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ७ प्रतिशतले घटेको छ । ग्रामीण क्षेत्रको जग्गाको भाउमा पनि शून्य दशमलव ३ प्रतिशतको कमी आएको छ ।

ग्रामीण क्षेत्रमा जग्गाको मूल्यमा महामारीको प्रभाव तुलनात्मक रुपमा थोरै भएको भू मन्त्रालयले बताएको छ ।जापानको ४७ मध्ये ३९ प्रिफेक्चरमा व्यवसायिक प्रयोजनका जग्गाको भाउ घटेको सरकारले गरेको वार्षिक सर्वेक्षणले देखाएको छ । ३८ प्रिफेक्चरमा आवासीय जग्गाको भाउ घटेको छ ।

सन् २०२० को उत्तराद्र्धमा भने जग्गाको भाउमा सुधार आएको छ । यति बेला जापानमा संक्रमण अलि मत्थर भएको थियो । तर टोकियो र अन्य क्षेत्रमा जनवरीको शुरु देखि मार्च २१ सम्म आपतकाल रहेकोले निकट भविष्यमा भाउ सुध्रने सम्भावना भने देखिएको छैन ।

देशभर व्यवसायिक प्रयोजनका जग्गाको भाउ शून्य दशमलव ८ प्रतिशतले घटेको थियो । यो सात वर्षयताको पहिलो कमी हो । सबैभन्दा मा’रमा तीन महानगर क्षेत्र परेका छन् ।यी क्षेत्रमा व्यवसायिक जग्गाको भाउ १ दशमलव ३ प्रतिशतले घटेको थियो । ग्रामीण क्षेत्रमा भने शून्य दशमलव ५ प्रतिशतको कमी आएको छ ।

देशभर १० ठूला व्यवसायिक जग्गाको भाउमा देखिएको कमी मध्ये ८ ओटा जग्गा ओसाकाको चुओ जिल्लामा थिए । दोटोम्बोरी जिल्लास्थित एक जग्गाको भाउ २८ प्रतिशतले घटेको छ । साप्पोरो, सेन्डाई, हिरोशिमा र फुकुओकाका व्यवसायिक जग्गाको भाउ भने ३ दशमलव १ प्रतिशतले बढेको छ ।

देशभर आवासीय जग्गाको भाउ भने शून्य दशमलव ४ प्रतिशतले घटेको छ । यो पाँच वर्षयताको पहिलो कमी हो । अनलाइन शपिङमा भएको वृद्धिका कारण लजिष्टिकको माग बढ्दा औद्योगिक जग्गाको भाउ भने जापानमा शून्य दशमलव ८ प्रतिशतले बढेको छ ।