कुल देवताको खोजीमा स्थानीयहरु जंगलको ओढारमा पसेपछि…

बैतडीको मेलौली नगरपालिका वडा न. ५ स्थित खलिगाडका दयाल सुमुदायका व्यक्तिहरु कुलदेवताको खोजीमा जंगलको ओढारमा पसेर स्तुती गर्न थालेका छन् । आफ्नो कुल देवता सिद्ध (भूत) प्राप्तिका लागि उनीहरु गएको ११ दिनदेखि जंगलको ओढारमा पसेका स्थानीय करन दयालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘हामीहरु घर छोडेर चैत १ गतेदेखि ओढारमा बसेर स्तुती गरिरहेका छौं । आफ्नो कुल देवताको प्राप्तिका लागि हामीहरु ओढारमा बसेका हौं ।’आफुहरु पुरानो चलन अनुसार कूल देवताका झाक्रीको खोजीका लागी ओढार पसेको स्थानीय गोपी दयालले बताउनुभयो ।

घरमा भएका पशुचौपायमा समेत संगै लगेर आफूहरु ओढारमा बसेको उहाँले बताउनुभयो ।विगतमा कुल देवता प्राप्तिका लागि आफ्ना पूर्खाहरु ओढार बस्ने गरेकाले अहिले आफूहरु पनि ओढारमा बसेर कुल प्राप्तिका लागि आराधना गरिरहेको अर्का स्थानीय दानी दयालले बताउनुभयो ।

बिगतमा आफ्नो कूल देवताको झाक्रीले दिएको वचन अनुसार फलाम समेत उत्पादन भएको हुदाँ शक्तिशाली कुलदेवताको प्राप्तिका आफूहरु ओढार पसेको दयाल परिवारहरुले बताएका छन् । आफ्नो कुल देवताको झाक्री नपाउँदा सम्म ओढारमै बस्ने उनीहरुले बताएका छन् ।