सरकारी गाडीमा आफन्त सरर, दुरुपयोग गरेको भन्दै स्थानीयद्वारा गाडी नियन्त्रण

काठमाडौं : रुपन्देही जिल्ला प्रशासन कार्यालयको गाडी पूर्वी नवलपरासीमा स्थानीय युवाहरुले केही बेर नियन्त्रणमा लिएका छन्। जिल्लाका प्रहरी प्रमुख एसपी प्रकाश मल्लका अनुसार चितवनतर्फबाट आएका लु १ झ ३३९ नम्बरको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गाडी प्रगतिनगरमा करिव २० जना युवाहरुले रोकेर सरकारी गाडी दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिएका हुन। एसपी मल्ल भन्छन्, ‘थप विवाद होला भनेर हामीले त्यो गाडीलाई यहाँको जिल्ला प्रशासन कार्यालयमा बुझाएका छौँ।’

यस सम्वन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे सँग सम्पर्क राख्दा जिल्ला प्रशासनको गाडी भएको तर आफु चढ्ने गाडी नभ एको बताए । प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘केही आफन्तहरुलाई चितवन सम्म पुराउनु पर्ने भएकोले गाडी पठाइएको हो। उताबाट फर्किने क्रममा सिद्धनाथ ग्याँस उद्योग मेरो भाइको भएकोले त्यहाँबाट फर्किने क्रममा उनलाई छोड्न गएको हुन सक्छ।’ उक्त गाडी देवचुली नगरपालिका वडा नम्वर १० मा रहेको सिद्धनाथ ग्याँस उद्योग प्रालि भित्र छिरेर बाहिर निस्केको थियो ।