जापानले विदेशी विद्यार्थीलाई कडा नियम सहित प्रवेश दिने सम्भावना

टोकियो । एक बर्षभन्दा लामो समयदेखी जापान अध्ययनको लागि प्रवेश कुरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई जापानले कडा नियम सहित प्रवेश दिने आशा पलाएको छ ।जापानका विदेशमन्त्री मोतेगी तोसिमिचुले यस बारेमा बोल्दै अध्ययनका लागि जापान आउने विदेशी विद्यार्थीहरुलाई प्रवेश अनुमती दिने बारे सरकारले सोचिरहेको बताएका छन् ।

मार्च २६ तारिख शुक्रबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री मोतेगीले ओलम्पिकसँग सम्वन्धित व्यक्तिहरुसँगै विदेशी विद्यार्थीहरुलाई प्रवेश दिने बारे सरकारले सोचिरहेको जानकारी गराएका हुन ।“मलाई लाग्छ ओलम्पिक सम्वन्धि विदेशी मिडिया र व्यक्तिहरुलाई जापान प्रवेश अनुमति दिईनेछ, किन हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि समान विशेष कदम चाल्न सक्दैनौं ?

जापानमा अध्ययन गर्ने उच्च आकांक्षा भएका विद्यार्थीहरुको भविष्यका लागि कडा क्वारिन्टिनको व्यवस्था गरी प्रवेश दिन सक्ने सम्भावना कत्तिको छ ?” भनि पत्रकारकार सम्मेलनमा एक पत्रकारले मन्त्री मोतेगीलाई प्रश्न राखेका थिए ।जवाफमा मन्त्री मोतेगीले भने – “नयाँ आप्रवासीहरुको स्वीकृती पुन सुरु गर्ने कुरा देश तथा विदेशमा संक्रमणको अवस्थालाई ध्यान दिएर गर्नुपर्दछ ।

यो महामारी रोकथामका उपायहरुका आधारमा हामीले लिने नीतिगत निर्णयहरु हो । हामी यस्तो अवस्थामा टोकियो ओलम्पिक र पाराओलम्पिक अधिकारीहरु र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रवेश बारे पनि बिचार गरिरहेका छौं ।”स्मरण रहोस्, नेपाल सहित विश्वका धेरै मुलुकहरुबाट भाषा विद्यार्थीका रुपमा जापान आउन पर्खिरहेका हजारौं विद्यार्थीहरु आफ्नो भविश्य के हुने भन्ने अन्यौलमा छन् ।