गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश

काठमाडौं । गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश भएको छ । जेठमा सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाउँदै समावेश गरेको हो ।सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो।

उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो ।यसअघि उक्त क्षेत्र भारतले अतिक्रमण गरेको थियो। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । भारतले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो ।

नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म हुन सकेको छैन । नेपालले पनि भारचसँगको सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपछि अब यसलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने बताइएको छ ।