दिउँसो १ बजे घर–घरमा मेलम्चीको पानी छोडिँदै

आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गरिँदैछ । चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानी जम्मा गर्ने काम भइरहेको छ । दिउँसो १ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

पानी वितरण गर्ने तयारी स्वरुप यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, खानेपानी मन्त्री, सचिव लगायतका पदाधिकारी बैठक बसिरहेका छन् । उपत्यकामा रहेको पानी वितरणको पुरानै नेटवर्कमार्फत पानी वितरण गर्ने तयारी गरिएको छ ।

आजको पानी वितरण सफल भएपछि मेलम्चीबाट दैनिक १७ करोड पानी काठमाडौमा नियमित रुपमा बितरण थालिनेछ । गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते आयोजनाको फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गर्नुभएको थियो । शुक्रबार वितरण केन्द्रमा पठाइएको पानी थोक वितरण प्रणाली पाइपलाइन ‘फ्लस’ गर्दै चाबहिलनजिक धोबीखोलामा खसालिएको थियो ।