अमेरिकामा रविन सुवेदी बेपत्ता

अमेरिकाको ओहायोबाट युवा रविन सुवेदी बेपत्ता भएको खबर सार्वजनिक भएको छ । उनका साथीहरुले उनी पेन्सिलभेनियाबाट ओहायोतर्फ जाँदै गर्दा बेपत्ता भएको बताएका छन् ।उनी गएराती ८ बजेदेखि हराएको र अन्तिमपटक ओहायोको आस्ताबुलामा देखिएको जनाइएको छ ।

५ फिट ८ इन्च उचाई भएका सुवेदी जे वाईसी ११५ नम्बरको गाडीमा चढेका थिए । घटनाबारे थप जानकारी प्राप्त भएको छैन । कुनै जानकारी भएमा उनका बुबा देवी सुवेदीलाई ८१४ ८८२ १६३१ मा जानकारी दिन अनुरोध गरिएको छ ।त्यस्तै न्युयोर्क सिटीबाटै हराएका नेपाली विद्यार्थी दुईमहिना नाघिसक्दा पनि अझै भेटिएका छैनन् ।

न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय शाहको बारेमा प्रहरीले मार्चको पहिलो साता केही थप विवरणहरु सार्वजनिक गरेको थियो । उनी जनवरी २० को विहान झण्डै ५ बजे ब्रुकलिन ब्रिजमा देखिएको विवरण सार्वजनिक भएको थियो ।त्यस क्षेत्रको सीसीटिभी फूटेज हेर्दा उनी ब्रिजमा ब्याकप्याकसहित एक्लै हिडेको देखिएको जनाइएको छ ।

यसअगाडि जनवरी १९ को राती १२ बजेतिर न्युजर्सीबाट न्युयोर्कको पेन स्टेशनमा आएको र न्युयोर्कको पेन स्टेशनबाट बाहिर निस्केको मात्र सीसीटिभी फुटेजमा देखिएको थियो । न्युयोर्कको पेन स्टेशनबाट निस्केर उनी कता लागे भन्नेबारे भने केही खुलेको थिएन ।