काठमाण्डौका धारामा आयो मेलम्ची

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंवासीको धारामा खस्न थालेको छ ।सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी अहिले २ बजेपछि जनताको घरमा पुगेको हो ।

पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले बताए ।‘आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण हुदैँछ,’ उनले भने, ‘बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङकीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।’

अनामनगरका पाँच सय वटा धारामा पानी खस्न थालिसकेको उनले बताए ।अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि बिस्तारै दैनिक साढे ६ करोड लिटर पानी भित्रिने केयूकेएलले जनाएको छ । काठमाण्डौ उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ ।