राष्ट्रपति भण्डारीद्वारा धाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको शुभारम्भ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् ।राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् ।

मेलम्चीको पानीसँगै राष्ट्रपति भण्डारीले पानीको फोहोराको पनि उद्घाटन गरेकी छन् ।शुक्रबार बिहानदेखि बालाजुस्थित रिजरभ्वायरबाट उपभोक्ताका लागि वितरण शुरू गरिएको हो ।खानेपानी गत आइतबारबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको भएपनि औपचारिक उद्घाटन भने आजमात्र भएको हो ।

शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।काठमाडौँको मिनभवन, अनामनगर, महांकाल, खुमलटारको पानी ट्यांकीबाट पनि पानी वितरण भएको छ । काठमाडौँ खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईका अनुसार आजदेखि काठमाडौँ उपत्यकामा दैनिक करीब ८ करोड लिटर खानेपानी वितरण हुनेछ ।