रविहरूले पैसा यस्तरी सोहोर्दा रहेछन्-

दर्जनौं कम्पनी, बैंक तथा होटलका मालिक रविभक्त श्रेष्ठको वार्षिक आम्दानी २ करोड रूपैयाँ मात्र भएको विवरण उनैको प्यान नम्बर (१०७६७२२१८) बाट खुलेको छ । तर, युनिलिभरबाट मात्रै वर्षको ५० देखि ६० करोड डिभिडेण्ड बुझ्दै आएका शाही सरकारका सहायकमन्त्री रविभक्त श्रेष्ठको वार्षिक आम्दानी २ करोड देखिनुमा कर विज्ञहरूले समेत शंका गरेका छन् ।

उनको एउटा प्यान नम्बरमा नेपाल एसबीआई बैंकबाट मात्र अघिल्लो आर्थिक वर्ष करिब २ करोड आम्दानी गरेको देखिन आएको छ ।सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्रका साझेदार श्रेष्ठको तीबाहेक शिवविक्रम होल्डिङ्स प्रालि, युनाइटेड इन्स्योरेन्स कम्पनी, नेशनल सोप इण्डष्ट्रिज, एनएमबी बैंकलगायत कम्पनीमा करोडौंको सेयर लगानी छ ।

ती सबैबाट प्राप्त हुने लाभांश मात्र जोड्दा वर्षको झण्डै एक अर्ब नाघ्ने गरेको छ । तर, करको सम्बन्धमा रविभक्तले देशभक्तिपूर्ण काम नगरेको आशंका छ ।नाफा बढाउने उद्देश्यले श्रेष्ठको युनिलिभरले गलत काम गरेको बताइन्छ । हेटौंडास्थित युनिलिभरको उत्पादनलाई सब कन्ट्रयाक्ट गरेर केही वर्षदेखि नेशनल सोपमार्फत उत्पादन थालिएको हो ।

नेशनल सोप युनिलिभरको नाफा ट्रान्सफर गर्ने सब्सीडायरी कम्पनीको रूपमा देखिन थालेको छ । युनिलिभरको आम्दानीबमोजिम धेरै कर तिर्नुपर्ने भएपछि कर बचत गर्ने उद्देश्यले त्यसो गरिएको सबैले बुझेको हुनुपर्छ । भारत र नेपाल दुवैतिर रहेको युनिलिभर हिन्दुस्तान र नेपालको नाममा ‘इधरका माल उधर’ गर्ने काम सजिलैसँग हुने गरेको छ ।

पाम आयलको आयातदेखि यताको उत्पादन भारत निकासीमा दुवैतिर कर छुटको फण्डा प्रयोग गरिन्छ भने कर तिर्ने ठाउँमा नेशनल सोपलाई अघि सारिन्छ । जबकि सबै सामान नेशनलले युनिलिभरको ब्राण्डमा तयार गर्दछ ।युनिलिभर नेपालमा रहेका कम्पनीमध्ये अत्यधिक नाफामा छ ।

श्रेष्ठको लगानी रहेका संस्थामध्ये युनाइटेड फाइनान्स, श्री इन्टरप्राइजेज, युनिलिभर, एनएमबी बैंकको नाफा अत्यधिक छ । युनिलिभरबाट मात्रै उनले अघिल्लो आर्थिक वर्ष ५८ करोड रूपैयाँ लाभांशबापत बुझेको सरकारी विवरण छ । परिवारका अन्य सदस्यको नाममा रहेको सेयर र त्यसको आम्दानीलाई समेत गणना गर्दा यो आम्दानी धेरै गुणा हुनु स्वाभाविक हो ।

तर, व्यक्तिगत रूपमा अघिल्लो आर्थिक वर्ष रविभक्तको वार्षिक खुद आम्दानी २ करोड १४ लाख १८ हजार ७ सय ७१ रूपैयाँ मात्र देखाइएको छ ।युनिलिभरको मात्र हिसाब गर्दा त्यो मात्र यस्तो संस्था हो, जसको प्रतिकित्ता एक सय रूपैयाँ सेयरको मूल्य १९ हजार ९ सय रूपैयाँ पुगेको छ ।

त्यसको कारोबार नै हुँदैन । किनभने ती सबै सेयर रविभक्तहरूको हातमा सीमित छ । केही वर्षदेखि सय रूपैयाँको सेयरलाई वर्षको ३५ देखि ३६ सय रूपैयाँ लाभांश प्राप्त हुने गर्छ । उता, नेशनल लाइफ इन्स्योरेन्समा पनि उनै जोडिएका छन् । होटल भिभान्ता, सोल्टी र युनाइटेड फाइनान्समा समेत चौधरी ग्रुपसँग राम्रै व्यावसायिक सम्बन्ध छ ।

कोकाकोला र नेबिको बिस्कुटमा पैतृक लगानी छ । श्रेष्ठका पिताको पालादेखि लगानी रहेको कोकाकोला र नेबिकोको आम्दानी पनि कम देखिँदैन । यतिधेरै अरबौं आम्दानी भएको व्यापारिक घरानाले सम्बन्धित निकायमा पेश गरेको आम्दानी र कर विवरणले भने सबैलाई झस्काइदिएको छ ।

झण्डै अर्बको हाराहारीमा नाफा कमाउने व्यवसायीले तिरेको कर भने १२ लाख १ हजार रूपैयाँको हाराहारीमा देखिनुले व्यापारी कसरी मालामाल बन्छन् भन्ने रहस्यलाई झन् पेचिलो छ ।वार्षिक एकाध करोड रूपैयाँलाई मात्र आम्दानी देखाएपछि घरमा सुतिसुति अर्ब आम्दानी गर्नेको अरु रकम कहाँ गयो होला ? कहाँ लगानी गरियो होला ? त्यो पाटो झन् डरलाग्दो हुनसक्ने बताइन्छ ।

ठूला व्यवसायीको नाताले राज्यबाट सुविधा लिने तर आम्दानी बमोजिमको कर नतिर्ने नियतले राज्यले उनको आम्दानीबाट के पायो ? अनि कति पायो ?उता, सधँै विदेशतिर बस्ने अर्का व्यवसायी प्रज्ञान राजभण्डारीको त्यही खेल देखिन्छ । उनको पनि देखाउने व्यवसाय सांग्रिला स्पिरिट मात्र हो ।

त्यो व्यवसायसँग अप्रत्यक्ष रूपमा गोल्छा अर्गनाइजेशन पनि जोडिएको देखिन्छ । सांग्रिला मूलतः विदेशी रक्सी आयात गरेर बेच्ने कम्पनी हो । उसले आयात गरेको विदेशी रक्सी बिक्री गर्ने सब्सिडायरी (देखाउने) कम्पनी भने ग्रीनलाइन इन्टरनेशनल हो । त्यो पनि पहिलेको काठमाडौं होटलवाला राणाको नाममा देखिन्छ ।

प्यान नम्बर १००१७५१८९ लिएका राजभण्डारीको करको फाइल यतिखेर न्युरोड कर कार्यालयमा पुगेको छ ।उनले पनि पछिल्लो केही वर्षमा आफ्नो आम्दानी ४१ करोडबाट घटेर १५ लाख देखाउनुलाई रहस्यमय मानिएको छ । आम्दानीको तथ्य विवरण नलुकाई कुनैपनि व्यवसायको क्षेत्र विस्तार हुँदै जाँदा आम्दानी घट्ने प्रश्नै नआउने कर कार्यालयका अधिकारीहरू बताउँछन् ।

प्रज्ञान स्वयं काठमाडौं न्युरोडका रैथाने हुन् तर प्रायः युरोपतिर बस्छन् । उनको साँग्रिला स्पिरिटले कमिशनबापत ०६६/६७ मा आम्दानी ४१ करोड रूपैयाँ देखाएको थियो । तर, कम्पनीले ०७३ मा कन्सल्टेन्सी आम्दानी भन्दै ३ करोड ८१ लाख रूपैयाँमात्र देखायो । जबकि त्यो ०७५/७६ मा आइपुग्दा जम्मा १५ लाखमा झरेको देखाइएको छ ।

यसरी व्यवसाय बढ्दै जाने, सेवा विस्तार हुँदै जाने, स्वदेशमा बस्न छाडेर मानिस विदेश बस्ने, तर कम्पनी र व्यवसायको आम्दानी नसोचेको दरमा घटेको देखाउनेलाई के भन्ने ? श्रेष्ठ र राजभण्डारीका पछिल्ला आम्दानी र कर विवरणले व्यवसायीहरूको नियतलाई स्पष्ट पारेको सरकारी अधिकारीहरूले समेत दाबी गरेका छन् ।जनआस्था