पूर्वराजा ज्ञानेन्द्र भारत सरकारको निम्तोमा नयाँदिल्ली प्रस्थान

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह भारत सरकारले पठाएको निम्तो स्वीकार गर्दै भारतीय राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। प्रत्येक १२–१२ वर्षमा हरिद्वारमा लाग्ने प्रख्यात कुम्भमेलामा शाहीस्नानका लागि सहभागी हुन दिल्ली प्रस्थान गरेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी काेमल शाहसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्। सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा पूर्व राजदम्पतिको हरिद्वार यात्रा हुन लागेको महाकुम्भ आयोजक स्रोतले बतायो ।

‘महाकुम्भ २०२१ हरिद्वार सनातन परम्परामा सर्वोच्च तथा सर्वोत्तम महापर्व महाकुम्भ रहेको र तपाईँ हिन्दू सम्राट एवम् हिन्दु राजा भएकाले १२ अप्रिल (चैत ३०) मा सम्पन्न हुने शाही स्नानमा यहाँको सहभागिता रहोस् भन्ने प्रवल इच्छा’ आचार्य महामण्डले व्यक्त गरेका छन् ।

हस्तलिखित निमन्त्रणा पत्रमा ‘राजा स्वयं देवस्वरुप हुने मान्यता हिन्दूहरुमा रहेको र तपाईँका उपर देवाधिदेव महादेव पशुपतिनाथ भगवानको अपार कृपा रहेको’ पनि उल्लेख छ ।दिल्लीबाट उनी शुक्रबार हुने शाहीस्नानका लागि हरिद्वारतर्फ प्रस्थान गर्ने छन् ।हरिद्वारकाे गंगा नदीमा स्नान गर्ने कार्यक्रम रहेको छ।

पूर्वराजा ज्ञानेन्द्रको लागि भारतको केन्द्र सरकार, उत्तरप्रदेश तथा उत्तराखण्ड सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। कोरोनाको महामारीबीच शाहीस्नानको लागि भारत प्रस्थान गर्नुअघि पूर्वराजा ज्ञानेन्द्रले कोराना परीक्षण गराएका थिए, जसमा रिर्पोट नेगेटिभ आएको थियो।

उनलाई शाहीस्नानको लागि उत्तराखण्डका मुख्यमन्त्रीले स्वागत गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा केदारनाथका पिठाधीश र विभिन्न सन्त तथा महन्तका साथै सत्तारुढ भारतीय जनता पार्टीसँग आबद्ध आरएसएसका पदाधिकारीको पनि उपस्थिति रहने बताइएको छ।