सर्वोच्च पुगिन् खुश्बु ओली

२६ चैत्र २०७७, बिहीबार काठमाडौं । चेक बाउन्ससम्बन्धी मुद्दामा आफूले सुनुवाइको मौका नपाएको भन्दै गोल्यान ग्रुपको सामाजिक उत्तरदायित्व कार्यक्रम हेर्दै आएकी पूर्व मोडल खुश्बु ओली सर्वोच्च अदालत पुगेकी छिन् ।

उनलाई उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २ महिना कैद र ३ हजार जरिवाना गर्ने फैसला गरेको थियो । त्यसको पुनरावलोकनका लागि उनी सर्वोच्च अदालत पुगेकी हुन् ।उनले दर्ता गरेको मुद्दाअनुसार आज न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी थियो ।

तर, हेर्न नभ्याइने भन्दै पेशी सरेको सर्वोच्च अदालतले जानकारी गराएको छ । २०७६ जेठ ८ मा जिल्ला न्यायाधीश कृष्णप्रसाद भट्टराईको इजलासले उनलाई दोषी ठहर गरेको थियो । गोपाल कटुवालसँगको ३६ लाख रुपैयाँ लेनदेन नमिलेपछि खुस्बुविरुद्ध मुद्दा परेको थियो ।

के थियो घटना ?-सप्तरीका गोपाल कटुवाल र मोडल खुश्बु ओली लामो समय विभिन्न सामाजिक संस्थामा सँगै काम गरेका व्यक्ति हुन् । उनीहरुबीच एक आपसमा आर्थिक लेनदेन हुने गरेको थियो । २०७४ सालमा ओलीले कटुवालसँग ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । त्यो पैसा उनले पछि फिर्ताका लागि कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन् ।

त्यस बैंकको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ भुक्तानी गरेकी थिइन् । तर त्यो खातामा पैसा नरहेको पाइयो । चेक बाउन्स भयो । त्यसपछि पैसा नै नउठ्ने देखेपछि कटुवाल जिल्ला अदालत काठमाडौं गएका थिए । जिल्ला अदालतले ओलीलाई दोषी ठहर गरेको थियो । अहिले ओलीले अदालतको उक्त निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गराएकी हुन् ।